काठमाडौं— पार्टी एकीकरण भएको सात महिना पूरा हुँदासमेत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो केन्द्रीय कार्य समितिलाई पूर्णता दिन सकेको छैन। गत कात्तिक १९ गते तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० राजनीतिक घटकको एकीकरणबाट नेकपाको गठन भएको थियो।

निर्वाचन आयोगमा दल दर्ता गर्दा नेकपाले १३८ सदस्यीय केन्द्रीय समितिको विवरण बुझाएको थियो। तर पार्टीको अन्तरिम विधानअनुसार संयोजक र सहसंयोजकसहित ६०१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गर्नुपर्ने व्यवस्था छ।

ad

पार्टीभित्र विभिन्न घटकबीच सहमतिका आधारमा कार्य समिति विस्तार गर्ने योजना रहे पनि हालसम्म अन्तिम टुंगो लाग्न सकेको छैन। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि ठूलो आकारको केन्द्रीय समिति घोषणा गर्ने तयारी भए पनि सम्भावित विवादलाई मध्यनजर गर्दै विस्तार प्रक्रिया रोकिएको थियो।

निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा आएपछि चैत १९ गते पार्टी संयोजक पुष्पकमल दाहाल ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका थिए। उक्त बैठकले नेताहरूको जिम्मेवारी, कार्यविभाजन र वरियतासम्बन्धी निर्णय गरेको थियो। साथै, केन्द्रीय कार्य समितिमा रहने सदस्यहरूको प्रारम्भिक सूची तयार गरी प्रदेश तहमा सुझावका लागि पठाइएको बताइएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वाला का अनुसार विधानले व्यवस्था गरेको १० प्रतिशत मनोनित सदस्य थप्ने विषयमा पनि छलफल भइरहेकाले कार्य समितिले अझै पूर्णता पाएको छैन। उनका अनुसार प्रदेशस्तरबाट प्राप्त सुझाव र नेतृत्व तहको अन्तिम सहमतिपछि मात्रै समिति टुंगोमा पुग्नेछ।

यदि मनोनित सदस्यहरू थपिए भने केन्द्रीय कार्य समितिको आकार ६६१ सदस्यसम्म पुग्ने अनुमान गरिएको छ। प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकहरूको परामर्शपछि अन्तिम सूची सार्वजनिक गरिने तयारी छ।

यसअघि केन्द्रीय संयोजन समितिले आगामी मंसिरको दोस्रो साताभित्र एकता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो। साथै, पार्टीका सबै संरचनामा कम्तीमा ५० प्रतिशत युवालाई समेट्ने नीति पनि अघि सारिएको छ।

यता, जेनजी आन्दोलनपछिको प्रतिनिधिसभा निर्वाचनमा १७ सिट जित्दै चौथो शक्तिमा सीमित भएको नेकपाभित्र नेतृत्व पुस्तान्तरणको बहस पनि चर्किएको छ। पार्टीका विभिन्न तहमा वरिष्ठ नेताहरूले मार्ग प्रशस्त गरी युवापुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने आवाज उठ्न थालेको छ।