काठमाडौं । भेपभित्र लुकाएर सुन तस्करी गरिएको चर्चित प्रकरणमा मुछिएका नायब सुब्बा रेवन्त खड्कालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइराला सम्मिलित इजलासले उक्त आदेश जारी गरेको हो। अदालतमा स्वयं उपस्थित भई निवेदन दिएका खड्काको बयान र थुनछेक बहस सम्पन्न भएपछि इजलासले थुनामा राख्ने निर्णय गरेको जनाएको छ।

ad

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको ८ हजार ४८० ग्राम सुनसँग सम्बन्धित मुद्दा दायर गरेको थियो। आयोगले उक्त सुनको मूल्य करिब ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बराबर रहेको उल्लेख गर्दै सोही रकम बराबरको बिगो कायम गरी अभियोगपत्र दायर गरेको हो।

मुद्दा दायर गर्दा अख्तियारले नेपाल सरकारद्वारा गठन गरिएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग–२०८० को प्रतिवेदन, भन्सार विभागको अनुसन्धान प्रतिवेदन तथा यसअघि अदालतबाट भएका फैसलाहरूलाई आधार बनाएको जनाएको छ।

अनुसन्धानअनुसार चिनियाँ नागरिक ली हाङ सङ ले दुई वटा सुटकेसभित्र रहेका ७३ बट्टामा ७३० थान भेपजस्ता उपकरणमा सुन लुकाएर नेपाल ल्याएका थिए। ती सामान विमानस्थल भन्सार जाँचका क्रममा एक्सरे परीक्षणमा परेका थिए।

त्यतिबेला जाँचमा खटिएका भन्सार कार्यालयका एक कर्मचारीले एक्सरे स्क्रिनमा एउटै आकारका निलो कभरभित्र शंकास्पद कालो वस्तु देखेपछि थप भौतिक परीक्षण आवश्यक रहेको उल्लेख गर्दै ‘आरसी’ (पुनर्जाँच) को टिप्पणी गरेका थिए। तर त्यसपछिका प्रक्रियामा लापरबाही भएको आरोपसहित अनुसन्धान अघि बढाइएको थियो।

यो प्रकरण नेपालमा हालसम्म चर्चित बनेका सुन तस्करी घटनामध्ये एक मानिन्छ, जसमा विभिन्न सरकारी कर्मचारी तथा अन्य व्यक्तिहरूमाथि समेत अनुसन्धान र कानुनी कारबाही जारी छ।