काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले पार्टीबाट अलग हुने घोषणा गरेका धवलशम्शेर राणालाई लक्षित गर्दै कडा राजनीतिक टिप्पणी गरेका छन्।

श्रेष्ठले राणालाई पार्टीभित्र समेट्ने प्रयास भए पनि सफल हुन नसकेको उल्लेख गर्दै उनी अब नयाँ राजनीतिक दल गठनतर्फ अघि बढिसकेको अवस्थामा त्यसलाई लोकतान्त्रिक अभ्यास र चुनावी प्रतिस्पर्धामा केन्द्रित गर्न सुझाव दिएका छन्।

ad

उनका अनुसार नयाँ दलले बहिष्कारको राजनीति होइन, निर्वाचनमा सक्रिय सहभागितामार्फत प्रतिस्पर्धात्मक संस्कार विकास गर्नुपर्ने आवश्यकता छ।

प्रवक्ताले राणाको सम्भावित नयाँ दलले सरकार र सिंहदरबारसँग अस्वस्थ दूरी राख्ने प्रवृत्तिबाट टाढा रहनुपर्ने सुझाव पनि दिएका छन्। पार्टी अनुशासनभन्दा व्यक्तिगत सोचमा आधारित संरचना दीर्घकालीन रूपमा सफल हुन नसक्ने उनको तर्क छ।

श्रेष्ठले संवैधानिक राजसंस्थाको पक्षमा उभिने भनिए पनि त्यस सम्बन्धी राजनीतिक एजेन्डामा स्पष्टता आवश्यक रहेको टिप्पणी गरेका छन्।

त्यसैगरी, संगठन सञ्चालन र नेतृत्व शैलीबारे पनि उनले प्रश्न उठाउँदै पार्टी चलाउनु नै वास्तविक चुनौती भएको बताएका छन्। उनका अनुसार आलोचना गर्नु सजिलो भए पनि संगठनलाई व्यवस्थित रूपमा सञ्चालन गरेर देखाउनु नेतृत्वको परीक्षा हो।

श्रेष्ठले धवलशम्शेरलाई राप्रपा तथा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि लगाइएका आरोपभन्दा फरक व्यवहार र अभ्यास गरेर पार्टी सञ्चालन गरेर देखाउन चुनौती दिएका छन्।

अन्त्यमा उनले राजनीतिक यात्रामा आउने आलोचना र प्रश्नलाई आत्मसात् गर्न सक्ने क्षमता आवश्यक हुने उल्लेख गरेका छन्।