
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण सकारात्मक र आशाजनक भएको प्रतिक्रिया दिएका छन्।
नयाँ दिल्लीमा आयोजित प्रवासी नेपालीहरूको कार्यक्रममा बोल्दै लामिछानेले भारतीय पक्षसँग भएका भेटवार्ता र छलफलहरूबाट आफू उत्साहित भएको बताएका हुन्।
उनका अनुसार दिल्लीमा भएका विभिन्न बैठकहरूमा नेपालको विषयलाई गम्भीरतापूर्वक सुन्ने वातावरण बनेको र सहकार्यको सकारात्मक संकेत प्राप्त भएको छ।
“दिल्लीमा नेपालको कुरा ध्यानपूर्वक सुनियो। विभिन्न भेटवार्तामा प्राप्त प्रतिबद्धताले मलाई प्रसन्न र आशावादी बनाएको छ,” लामिछानेले भने, “अब नेपाल पनि समृद्धिको यात्रामा सँगसँगै अघि बढ्ने विश्वास लिएर म फर्किँदैछु।”
उनले नेपाललाई नयाँ दिशातर्फ अघि बढाउने लक्ष्यसहित आफू भारत गएको उल्लेख गर्दै आर्थिक सहकार्य र विकासको सम्भावनाबारे छलफल भएको बताए।
“नेपाललाई नयाँ गन्तव्यमा लैजान हामी तयार छौं। सहकार्यको खाका लिएर हामी आएका थियौं,” उनले भने।
पाँच दिने भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता गरेका थिए।
लामिछाने शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।










Facebook Comments