काठमाडौँ । नेकपा एमाले संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा’ कार्यशाला १० बुँदे संकल्प पारित गर्दै सम्पन्न भएको छ।

कार्यशालाले पार्टी संगठन विस्तार, डिजिटल रूपान्तरण र जनसम्पर्क सुदृढीकरणलाई केन्द्रमा राख्दै विभिन्न संकल्पहरू गरेको छ। विशेषगरी, एक संगठित सदस्यले कम्तीमा तीन नयाँ सदस्य तयार गर्ने लक्ष्यलाई मुख्य अभियानका रूपमा अघि सारिएको छ।

ad

कार्यशालामा पार्टी सदस्यता नवीकरणलाई अनलाइन प्रणालीमार्फत प्रभावकारी बनाउँदै सम्बन्धित व्यक्तिको प्रत्यक्ष सहभागितामा प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

त्यसैगरी, गत प्रतिनिधिसभा निर्वाचनमा अन्यतर्फ गएका मतदातालाई पुनः पार्टीमा सक्रिय गराउने, संगठनलाई डिजिटल प्रविधिसँग जोड्ने र पार्टी जीवनलाई आधुनिक प्रविधिमैत्री बनाउने लक्ष्य पनि लिइएको छ।

'ठिक समय एमाले समय' भन्ने नारालाई व्यवहारमा उतार्दै हरेक कार्यक्रम तोकिएको समयमा सुरु गर्ने प्रतिबद्धता पनि कार्यशालाले जनाएको छ।

संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्तुत गरेको प्रस्तावमा पार्टीलाई टोलदेखि केन्द्रसम्म पुनर्जागरण गर्दै सुदृढ संगठन निर्माण गर्ने रणनीति समेटिएको छ।

१० बुँदे संकल्प प्रस्ताव

१. पार्टी सदस्यता अनलाइन नवीकरण कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब र व्यवस्थित रूपमा अगाडि बढाउने।

२. प्रत्येक संगठित सदस्यले कम्तीमा तीन नयाँ पार्टी सदस्य तयार गर्ने अभियान सञ्चालन गर्ने।

३. गत प्रतिनिधिसभा निर्वाचनमा अन्यतर्फ गएका मतदातालाई पुनः पार्टीसँग जोड्न आह्वान गर्ने।

४. “ठिक समय एमाले समय” नारालाई व्यवहारमा उतार्दै सबै कार्यक्रम तोकिएको समयमा सुरु गर्ने प्रतिबद्धता गर्ने।

५. विज्ञान तथा प्रविधिको विकास र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई डिजिटल रूपान्तरण गर्ने।

६. सदस्यता नवीकरण अभियान छिटो सम्पन्न गरी टोलदेखि केन्द्रसम्म संगठन पुनर्जागरण गर्ने।

७. जनसङ्गठनहरूलाई समुदायका मुद्दामा नेतृत्वदायी बनाउँदै संगठनात्मक पुनर्संरचना गर्ने।

८. नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्दै पार्टी आबद्ध परिवारका युवाहरूलाई संगठनमा सक्रिय बनाउने।

९. केन्द्रीय सम्पर्क समन्वय समितिलाई सक्रिय बनाई देशभित्र तथा उपत्यकाको संगठनात्मक काम प्रभावकारी बनाउने।

१०. प्रवासमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्क कायम राख्दै उनीहरूको अनुभव र दक्षताको उपयोग गर्ने रणनीति अपनाउने।