
काठमाडाैं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
कुशल भुर्तेलको विष्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले एकपक्षीय जित निकाल्न सफल भयो। चीन प्रतियोगिताबाट बाहिरिएसँगै समूह ‘ए’ का शीर्ष दुई स्थानमा रहेका नेपाल र मलेसिया सेमिफाइनलमा प्रवेश गरेका हुन् । दुई समूहमा विभाजित छनोट प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष दुई टोलीले जापानमा यसै वर्ष हुने २० औं एसियाडमा स्थान बनाउने प्रावधान छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको पहाड खडा गरेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले मात्र ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै १२६ रनको सानदार शतकीय पारी खेले। अर्का ओपनर आसिफ शेखले पनि आक्रामक ब्याटिङ गर्दै २४ बलमा ६८ रन जोडे। उनीहरूबीच पहिलो विकेटका लागि १३४ रनको साझेदारी भएको थियो।
मध्यक्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोड्दा सन्दीप जोराले १५ रनको योगदान दिए। मलेसियाका लागि विरनदीप सिंहले २२ रन खर्चेर ३ विकेट लिए भने सैयद अजिज र विजय उन्नीले समान २-२ विकेट लिए।
२७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले २० ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर मात्र १०८ रन बनाउन सक्यो। मलेसियाका लागि कप्तान सैयद अजिजले ४५ बलमा ५४ रनको अर्धशतकीय पारी खेल्नु बाहेक अन्य कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। सार्भिन मुनियान्डीले १८ रन र मोहम्मद हाजिक आइमानले १३ रन जोडे।
नेपालको बलिङतर्फ शेर मल्लले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिँदै किफायती बलिङ गरे। त्यस्तै, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १-१ विकेट हात पारे।







Facebook Comments