
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा संकलित निक्षेप रकम ८० खर्ब रुपैयाँ नाघेको छ। तर पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा ठूलो परिमाणमा लगानीयोग्य रकम थन्किएको देखिएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार जेठ १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ८० खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। विप्रेषण (रेमिटेन्स) आप्रवाहमा भएको उल्लेखनीय वृद्धि र अन्य क्षेत्रहरूमा लगानीका अवसर सीमित हुँदा कम ब्याजदरका बाबजुद बैंकमा बचत जम्मा गर्ने प्रवृत्ति बढिरहेको छ।
हाल बैंकहरूले निक्षेपमा औसत ३.४० प्रतिशत ब्याज उपलब्ध गराइरहेका छन्। यता कर्जाको ब्याजदर पनि घटेर औसत ६.७७ प्रतिशतमा झरेको छ। तैपनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन।
राष्ट्र बैंकका तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मुलुकमा १६ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा करिब ३९ प्रतिशतले बढी हो। रेमिटेन्स वृद्धिले बैंकिङ प्रणालीमा तरलता थप बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
बैंकहरूले हालसम्म ५८ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन कुल निक्षेपको करिब ७३ प्रतिशत बराबर हो। यस आधारमा बैंकहरूसँग अझै १३ खर्ब रुपैयाँभन्दा बढी रकम कर्जा लगानीका लागि उपलब्ध रहेको अनुमान गरिएको छ।
कर्जा विस्तार सुस्त भएपछि बैंकहरूले अतिरिक्त रकम नेपाल राष्ट्र बैंकमा राखिरहेका छन्। हाल बैंकिङ प्रणालीबाट संकलित अतिरिक्त तरलताको १० खर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत व्यवस्थापन गरिरहेको छ।
निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा जस्ता व्यवस्थामार्फत राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त रकम निश्चित अवधिका लागि तान्ने गर्छ। वित्तीय प्रणालीमा अत्यधिक तरलता हुँदा यस्तो व्यवस्था प्रयोग गरिन्छ भने तरलता अभावको अवस्थामा पुनः बजारमा रकम प्रवाह गराउने नीति अवलम्बन गरिन्छ।
हाल बैंकहरूले राष्ट्र बैंकमा राखेको रकममा करिब २.६८ प्रतिशतदेखि ३ प्रतिशतसम्म ब्याज प्राप्त गरिरहेका छन्। बैंकिङ प्रणालीमा बढ्दो निक्षेप र सुस्त कर्जा विस्तारले अर्थतन्त्रमा लगानी विस्तार र निजी क्षेत्रको गतिविधि अझै अपेक्षित रूपमा सक्रिय हुन नसकेको संकेत गरेको विश्लेषण गरिएको छ।










Facebook Comments