काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याउँदै त्यसो नभएसम्म आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन्।

बिहीबार संसदीय मामिलासम्बन्धी पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने भनाइलाई गम्भीर, गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत रहेको टिप्पणी गरे।

ad

उनका अनुसार कुनै पनि सार्वभौम राष्ट्रका सरकार प्रमुखले आफ्नो देशमाथि यस्ता आरोप सार्वजनिक रूपमा लगाउने अभ्यास विश्वमा विरलै देखिने भएकाले उक्त अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको छ। उनले प्रधानमन्त्रीको भनाइ संसद्को अभिलेखमा राखिन नहुने एमालेको स्पष्ट धारणा रहेको बताए।

महरले संसद्को गरिमा र मर्यादा जोगाउने जिम्मेवारी प्रधानमन्त्री र सभामुख दुवैको भएको उल्लेख गर्दै विवादित विषयलाई बेवास्ता गर्दै नियमित कार्यसूची अघि बढाउन खोजिए संसद्को प्रभावकारितामाथि नै प्रश्न उठ्न सक्ने बताए।

उनले विवादित अभिव्यक्तिबारे स्पष्ट निर्णय गरेर मात्रै सदनको कामकारबाहीलाई सहज रूपमा अघि बढाउन सकिने धारणा राखे। यही विषयलाई लिएर एमालेले प्रतिनिधिसभामा निरन्तर विरोध जनाएको र माग सम्बोधन नभएसम्म आफ्नो अडान कायम रहने उनले स्पष्ट पारे।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद देखिँदै आएको छ। एमालेले अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएको छ भने यस विषयले संसद्को वातावरण प्रभावित बनाइरहेको छ।