रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित कालापहर क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। सहिद मार्गअन्तर्गत सञ्चालनमा रहेको बोलेरो जिप सडकबाट सयौं मिटर तल खसेपछि दुर्घटना भएको हो।

प्रहरीका अनुसार अस्थायी नम्बर प्लेट रहेको डबल क्याब बोलेरो करिब ६०० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान कार्य सुरु गरेको थियो।

ad

जिल्ला प्रहरी कार्यालय रोल्पाले दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान सार्वजनिक गर्दै चालक दाङको घोराही उपमहानगरपालिका–७ देसाही निवासी २५ वर्षीय वीरबहादुर चौधरी रहेको जनाएको छ। यस्तै दाङको दंगीशरण गाउँपालिका–७ श्रीगाउँ स्थायी घर भई हाल घोराही–१४ मा बसोबास गर्दै आएका ४० वर्षीय जिउधन चौधरी र उनकी पत्नी ३८ वर्षीया कमला चौधरीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त जिपमा जस्तापाता तथा प्लास्टिकका पाइप ढुवानी भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

स्थानीयवासीका अनुसार दुर्घटना भएको क्षेत्र भौगोलिक रूपमा जोखिमपूर्ण मानिन्छ। प्रहरीले घटनाको विस्तृत विवरण संकलन गर्ने काम जारी राखेको छ।