
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणासहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टीबाट अलग हुने घोषणा गरेका छन्। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले पार्टीको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।
राणा पक्षले पार्टी नेतृत्वको कार्यशैली, निर्णय प्रक्रिया तथा मूल राजनीतिक एजेन्डाबाट विचलन भएका कारण पार्टीभित्र सम्भावना कमजोर बन्दै गएको आरोप लगाएको छ। उनीहरूका अनुसार पार्टीको वैचारिक आधार र एकता महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई बेवास्ता गर्दै नेतृत्वले महत्वपूर्ण राजनीतिक निर्णयहरू गरेको छ।
पार्टी परित्यागको निर्णय सार्वजनिक गर्दै राणा पक्षले संवैधानिक राजसंस्था पुनर्स्थापनाको लक्ष्य बोकेको दलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारी कार्यक्रमसँग सहकार्य गर्नु आफ्नै घोषित नीतिविपरीत भएको प्रश्न उठाएको छ। यस विषयमा पटकपटक पार्टीका वैधानिक संरचनाभित्र प्रश्न उठाए पनि नेतृत्वबाट स्पष्ट जवाफ नआएको उनीहरूको दाबी छ।
उनीहरूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने पार्टी निर्णय कार्यान्वयन नभएको, आन्तरिक लोकतन्त्र कमजोर भएको तथा राजसंस्था पुनर्स्थापनासम्बन्धी आन्दोलनहरू प्रभावकारी रूपमा अगाडि बढ्न नसक्नुमा नेतृत्व जिम्मेवार रहेको आरोप समेत लगाएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले राप्रपा छोडेर नयाँ राजनीतिक दल निर्माणको प्रक्रिया सुरु गरिएको घोषणा गरे। उनले नयाँ दलको मुख्य वैचारिक आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पार्दै राष्ट्रवादी शक्तिहरूलाई एकजुट गर्ने उद्देश्य राखिएको बताए।
राणाका अनुसार नयाँ राजनीतिक अभियानले राजावादी, राष्ट्रवादी तथा हिन्दूवादी विचारधारामा विश्वास गर्ने विभिन्न समूह, संघसंस्था र व्यक्तित्वहरूलाई समेट्ने प्रयास गर्नेछ। उनले देशमा बलियो राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि नयाँ दल गठनको निर्णय गरिएको बताए।
राणाले पछिल्ला निर्वाचनहरूमा राप्रपाको प्रभाव खुम्चिँदै गएको र नेतृत्वले संगठन सुदृढीकरण तथा महाधिवेशनप्रति पर्याप्त चासो नदिएको आरोपसमेत लगाए। पार्टीभित्र सुधारको प्रयास सफल नभएपछि नयाँ राजनीतिक विकल्प निर्माण गर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।
राप्रपाबाट बाहिरिएका नेता–कार्यकर्ताहरूको यो कदमले पार्टीभित्र नयाँ राजनीतिक बहस सुरु गराएको छ भने आगामी दिनमा राष्ट्रवादी धारको राजनीतिमा यसको प्रभाव कस्तो रहने भन्ने विषय चासोको केन्द्र बनेको छ।










Facebook Comments