काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदा लिएर सेवामा नफर्किने प्राध्यापकहरूबाट सरकारले हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराएको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको पहल र विश्वविद्यालयको सक्रियतामा उक्त रकम असुल भएको हो।

शिक्षामन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने अभियानअन्तर्गत यो उपलब्धि हासिल भएको बताएका छन्।

ad

उनका अनुसार अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने व्यवस्था हो। तर राज्यको लगानीमा प्राप्त उक्त सुविधाको दुरुपयोग गर्दै कतिपय प्राध्यापक सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिकसँगै शैक्षिक र नैतिक क्षति पुर्‍याएको थियो।

मन्त्री पोखरेलले मन्त्रालयले यस विषयलाई प्राथमिकताका साथ उठाउँदै आवश्यक कदम चाल्न विश्वविद्यालयलाई प्रोत्साहन गरेको र त्यसपछि सुरु गरिएको छानबिन तथा कानुनी प्रक्रियाबाट रकम असुलीको काम प्रभावकारी बनेको उल्लेख गरेका छन्।

उनले यो उपलब्धिलाई केवल आर्थिक रकम फिर्तासँग मात्र नजोडी सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति जनविश्वास मजबुत बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको बताएका छन्।

यसैबीच, अध्ययन बिदा दुरुपयोगको छानबिनका लागि गठित समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार हालसम्म ३९८ जना शिक्षकले अध्ययन बिदाको दुरुपयोग गरेको तथ्य फेला परेको छ। तीमध्ये ६१ जना सम्पर्कमा आएका छन् भने बिहीबारसम्म ४४ जनाबाट रकम असुली भइसकेको छ।

समितिले प्रारम्भिक अध्ययनका आधारमा अध्ययन बिदा दुरुपयोग गर्ने शिक्षकहरूबाट करिब दुई अर्ब रुपैयाँसम्म असुल गर्न सकिने अनुमान गरेको जनाएको छ। मन्त्रालयले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा पारदर्शिता, सुशासन र सार्वजनिक स्रोतको संरक्षणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।