पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा नयाँपन नभएको बताएका छन्। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने दावी गरेका भए पनि पाण्डेका अनुसार त्यस्तो कुनै नयाँ योजना बजेटमा समावेश छैन।

रूपन्देही व्यापार संघले बुधबार बुटवलमा आयोजना गरेको आर्थिक बहसमा बोल्दै पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको टिप्पणी गरे। उनले भने, “बजेटको आकार मात्र बढाएर मुलुक समृद्ध हुन सक्दैन। आवश्यक तयारीबिनै २५ प्रतिशत बढी बजेट प्रस्तुत गरिएको छ। विगतका कार्यक्रमहरूलाई नै समेटिएको छ, कुनै तात्विक रूपान्तरण हुने नयाँ घोषणा छैन।”

ad

पाण्डेले बजेट भाषामा मिठो सुनिए पनि वैचारिक स्पष्टता नहुँदा मुलुकलाई अपेक्षित प्रतिफल नदिने बताएका छन्। उनले थपे, “वास्तवमा स्रोतको आधारमा खर्च तय हुनुपर्छ, तर हाम्रो अभ्यास उल्टो छ। हरेक अर्थमन्त्रीले अलिकति ठूलो बजेट र केही नयाँ घोषणा गर्ने सोच राख्छन्। यसपालि पनि त्यही दोहोरिएको छ।”

पूर्वमन्त्री पाण्डेले बजेटमा समावेश उधारो ऐनको सकारात्मक पक्षलाई स्वीकार गर्दै, यसले व्यवसायीहरूलाई ऋण उठाउन सहज बनाउने बताए। तर उनले भने, बजेटले मध्यवर्गलाई केन्द्रमा राखे पनि निजी क्षेत्रको लगानी उत्साह जगाउन असफल भएको बताएका छन्। पाण्डेका अनुसार उद्योगी तथा व्यवसायीहरूको आत्मविश्वास बढाउन सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेछ।

उनले चालु आर्थिक वर्षको पुँजीगत खर्च २५ प्रतिशतभन्दा बढी हुन नसक्ने र २१ सय अर्ब रुपैयाँको बजेटमा डेढ खर्ब मात्र पुँजीगत खर्च हुने हुँदा अर्थतन्त्रमा प्रभाव सीमित रहने कुरा औँल्याए। साथै, चालु आवमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य भए पनि सवा १० खर्ब मात्रै उठेको जानकारी दिए।

रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले भने, कार्यक्रममा बजेटका प्रभाव, कर नीति र राज्यको कर असुली विधि लगायत विषयमा छलफल गर्ने उद्देश्य रहेको बताए।