काठमाडौँ — नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले हालै पेश गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको जनाएको छ। 

महासंघले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास र निजी क्षेत्रको मनोबल बढाउने विश्वास व्यक्त गरेको छ।

ad

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले पत्रकार सम्मेलनमा भने, 'बजेटमा उद्योग तथा व्यवसायमैत्री कर नीति सुधार, उद्यमशीलता प्रवद्र्धन, डिजिटल अर्थतन्त्रको विकास, उत्पादन र रोजगारी अभिवृद्धि, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। यी पहलले निजी क्षेत्रका लागि सकारात्मक वातावरण निर्माण गर्नेछन्।'

महासंघले बजेटले लघु, घरेलु र साना उद्योगले भोग्दै आएका आर्थिक सुस्तता, लगानी चुनौती, उत्पादन र बजार व्यवस्थापन, वित्तीय पहुँचको समस्या समाधानमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ। अध्यक्ष सिंहले थपे, 'नीतिगत सुधारले उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने, उत्पादन लागत घटाउने र बजार पहुँच विस्तारमा सहयोग पुग्नेछ।'

महासंघ स्थापनाको ३७औँ वर्षमा प्रवेश गरेको अवसरमा यही जेठ २४ र २५ गते ललितपुरमा २६ औँ राष्ट्रिय महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना हुने जानकारी पनि दिइएको छ। महाधिवेशनमा सातवटै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमीहरू गरी करिब एक हजारजनाको सहभागिता रहनेछ।

उद्यमी सम्मेलनले महासंघको सङ्गठनात्मक सुदृढीकरण, विगतको समीक्षा, भावी नीति तथा कार्यक्रम तय गर्ने काम गर्दै, आगामी तीन वर्षका लागि महासंघ र महिला उद्यमी समितिको नयाँ नेतृत्व चयन गर्नेछ। 

महासंघले बजेट कार्यान्वयनमा सरकारसँग सहकार्य गर्दै निजी क्षेत्र र सरकार बीचको साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।