
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पक्षधर सांसदहरूको सहभागितामा बुधबार सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक बसेको छ। मङ्गलबार १८ सांसदमध्ये ९ जनाले दर्ता गरेको अविश्वास प्रस्तावलाई लिएर मुख्यमन्त्री शाहले बैठक बोलाएका थिए।
करीब साढे दुई घण्टासम्म चलेको बैठकमा केवल शाहको समर्थनमा रहेका सांसदहरू उपस्थित थिए। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसद डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिँदै मुख्यमन्त्री शाहको समर्थन स्पष्ट गरेपछि शाहको पद सुरक्षित भएको देखिन्छ।
बैठकमा प्रमुख सचेतक विक्रमसिंह धामी, भौतिक पूर्वाधार विकास मन्त्री बहादुर सिंह थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा सांसद मधुदेवी भारती सहभागी थिए।
अविश्वास प्रस्ताव दर्ता गर्ने पक्षका केही सांसदहरू बैठकमा अनुपस्थित रहे। सांसद प्रकाश देउवा भने हाल अमेरिकामा रहेका कारण उपस्थित हुन सकेनन्।
बैठकले जेठ ८ गते गरिएको हस्ताक्षर स्वतः निष्क्रिय भएको निर्णय गरेको छ। यसअघि जेठ १७ गते बसेको बैठकले वर्तमान सरकारले नै बजेट निर्माण गर्ने निर्णय गरिसकेको भएकाले पुरानो हस्ताक्षरको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ।
साथै, दलभित्रको पूर्ण एकता कायम राख्दै फरक मत र विमतिहरू आपसी संवाद, छलफल र सहमतिका माध्यमबाट समाधान गर्ने निर्णय बैठकले गरेको छ। संसदीय दलले आफ्नो एकतालाई अझ सुदृढ बनाउँदै जनताको हित र प्रदेशको समृद्धिका लागि सबै सांसदहरू जिम्मेवार र दृढ रहने प्रतिबद्धता पनि जनाएको छ।










Facebook Comments