
काठमाडौं — प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय प्रणालीलाई प्रभावकारी, विश्वसनीय र सुदृढ बनाउन न्यायालय र कानुन व्यवसायीबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
सर्वोच्च अदालत बार एसोसिएसनद्वारा आयोजित स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा बोल्दै उनले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन बार र बेन्चबीचको समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
प्रधानन्यायाधीश शर्माले विधिको शासन, संविधानको कार्यान्वयन र मानव अधिकारको संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै न्यायिक प्रणालीप्रति जनविश्वास अभिवृद्धि गर्न दुवै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतमा मुद्दाको चाप निरन्तर बढिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन र फर्छ्योटमा विशेष ध्यान दिन सुझाव दिए। उनले न्याय क्षेत्रको प्रभावकारिताका लागि बार र बेन्चबीचको सहकार्यको परम्परा कायम रहनुपर्नेमा जोड दिए।
त्यसैगरी, नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायिक सुधारसँग सम्बन्धित न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गरे। उनका अनुसार प्रतिवेदनमा समेटिएका सुझावहरू लागू भए न्याय क्षेत्रका विद्यमान समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्नेछ।
न्यायिक सुधार, मुद्दा व्यवस्थापन र संस्थागत समन्वयका विषयमा केन्द्रित उक्त कार्यक्रममा न्याय क्षेत्रका विभिन्न सरोकारवालाहरूले न्यायपालिकाको प्रभावकारिता बढाउन सुधारका प्रयासलाई तीव्र बनाउनुपर्ने धारणा राखेका थिए।










Facebook Comments