
काठमाडौं — नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्वबाट पछि नहट्ने स्पष्ट संकेत दिएका छन्। पार्टीभित्र विभिन्न कोणबाट दबाब बढिरहे पनि आफूले जिम्मेवारी बीचमै नछाड्ने उनको अडान दोहोरिएको छ।
बुधबार काठमाडौंमा आयोजित सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै ओलीले पार्टीलाई सुदृढ र बलियो अवस्थामा पुर्याएपछि मात्रै विश्राम लिने बताएका हुन्। उनले कसैको चाहना वा दबाबका आधारमा नेतृत्व परिवर्तन नहुने संकेतसमेत गरे।
कार्यक्रममा बोल्दै ओलीले केही नेताहरूले नेतृत्व परिवर्तनलाई नै पार्टी सुधारको उपायका रूपमा प्रस्तुत गरिरहेको टिप्पणी गरे।
“कतिपयलाई लाग्छ, शिर काटेर टेबलमा राखिदियो भने पार्टी सुध्रिन्छ। तर त्यसरी नेतृत्व हटाउँदैमा पार्टी एकता र संगठन बलियो हुँदैन,” उनले भने।
ओलीले एमालेलाई थप एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि नेतृत्व र कार्यकर्ताबीच विश्वास तथा सहकार्य अपरिहार्य रहेको धारणा राखे। उनले जनताको बहुदलीय जनवादको सिद्धान्तमा पार्टी लामो समयदेखि अघि बढिरहेको स्मरण गराउँदै सबैलाई त्यसैको मार्गदर्शनमा अघि बढ्न आग्रह गरे।
यही अभिव्यक्तिपछि कार्यक्रममा सहभागी उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत एउटा पुरानो लोककथा स्मरण गर्दै व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।
भट्टराईले लेखेका छन्, “नेकपा एमालेको सातौँ राष्ट्रिय महाधिवेशन (जनकपुर) को बन्दसत्रमा एक वरिष्ठ नेताले सुनाउनुभएको कथा आज फेरि सम्झिएँ।”
उनले साझा गरेको कथामा एक वृद्ध व्यक्ति बसभित्रको फलामे डन्डी समातेर यात्राभर दायाँ–बायाँ तान्दै हिँड्छन्। गन्तव्यमा पुगेपछि उनी यात्रुहरूलाई आफूले बस पल्टिनबाट जोगाएको दाबी गर्छन्। यात्रुहरू अचम्म मान्छन्, तर वृद्ध भने आफ्नो भूमिकाप्रति गर्व गर्छन्।
भट्टराईले प्रत्यक्ष रूपमा कसैको नाम उल्लेख नगरे पनि उनको टिप्पणीलाई एमालेभित्रको नेतृत्व बहससँग जोडेर हेरिएको छ।
उता अध्यक्ष ओलीले पनि चुनौतीपूर्ण परिस्थितिमा नेतृत्व सम्हालेको स्मरण गराउँदै आफू अवसरको खोजीमा मात्रै नेतृत्वमा नआएको बताएका छन्।
“सजिलो बेला जिम्मेवारी लिन तयार हुने र अप्ठ्यारो पर्दा झोला फ्याँकेर हिँड्ने मान्छे म होइन,” उनले भने, “पार्टीलाई सही दिशामा पुर्याएर, विधिसम्मत प्रक्रियाबाट मात्रै विश्राम लिन्छु।”
पछिल्लो समय पार्टीभित्रको शक्ति समीकरण, निर्वाचन परिणाम र नेतृत्वको भावी संरचनाबारे बहस तीव्र भइरहेका बेला ओलीको यो अभिव्यक्तिले एमालेभित्रको राजनीतिक संवादलाई थप तातो बनाएको छ। त्यसैबीच योगेश भट्टराईको लोककथा शैलीको टिप्पणीले नेतृत्व र उत्तराधिकारको विषयलाई नयाँ ढंगले चर्चा केन्द्रमा ल्याएको छ।










Facebook Comments