
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भावनात्मक नाराभन्दा व्यवहारिक सहकार्य र विकासमुखी दृष्टिकोणबाट अघि बढाउनुपर्ने बताएका छन्।
भारत भ्रमणका क्रममा उनले भारतीय दैनिक हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखमार्फत आफ्नो पार्टीको विदेश नीति र नेपाल–भारत सम्बन्धबारे धारणा सार्वजनिक गरेका हुन्।
लामिछानेले परम्परागत राजनीतिमा प्रचलित अतिराष्ट्रवादी भाषाशैलीप्रति आफूहरू आकर्षित नभएको उल्लेख गर्दै तथ्य, संवाद र व्यावहारिक समाधानमा आधारित कूटनीतिलाई प्राथमिकता दिने बताएका छन्। उनका अनुसार रास्वपाले भू–राजनीतिक प्रतिस्पर्धाभन्दा विकास र समृद्धिलाई केन्द्रमा राखेर नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन चाहन्छ।
उनले रास्वपा पुराना राजनीतिक विवाद र कटुताभन्दा माथि उठेर पारदर्शी तथा परिणाममुखी सम्बन्ध निर्माणको पक्षमा रहेको दाबी गरेका छन्। नेपालले आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्न भारतसहित विश्व समुदायसँग खुला र स्पष्ट उद्देश्यका साथ सहकार्य गर्नुपर्ने उनको धारणा छ।
लेखमा उनले दुई देशबीच पूर्वाधार, ऊर्जा, प्रविधि, पर्यटन र व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने विभिन्न प्रस्तावहरू अघि सारेका छन्। प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माणलाई उनले क्षेत्रीय सम्पर्क र आर्थिक गतिविधिमा ठूलो परिवर्तन ल्याउने परियोजनाका रूपमा चित्रण गरेका छन्।
त्यस्तै, पोखरा र लुम्बिनीबाट भारतका प्रमुख सहरहरूमा सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले पर्यटन र व्यापार प्रवर्द्धनमा यसले महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
सूचना प्रविधिको क्षेत्रमा भारतले हासिल गरेको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै लामिछानेले काठमाडौं–बेंगलुरु डिजिटल सहकार्यको अवधारणा अघि सारेका छन्। साथै, नेपाल–भारत सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना, प्राविधिक शिक्षा तथा स्वास्थ्य सेवाका उत्कृष्ट संस्थाहरूको विस्तारमा पनि सहकार्य गर्नुपर्ने उनको सुझाव छ।
ऊर्जा क्षेत्रमा नेपालका जलविद्युत् स्रोत र भारतको बढ्दो औद्योगिक मागबीच बलियो साझेदारी निर्माण गर्न सकिने उनको भनाइ छ। उनले सीमापार व्यापारलाई सहज बनाउन डिजिटल प्रणाली, एकीकृत जाँच चौकी र आधुनिक यातायात पूर्वाधारको विकास आवश्यक रहेको उल्लेख गरेका छन्।
पर्यटनका क्षेत्रमा दुवै देशको साझा धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदालाई जोड्ने पर्यटन मार्ग विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्। खेलकुद क्षेत्रको सहकार्य विस्तार गर्दै नेपाली खेलाडी र रंगशालालाई भारतीय प्रिमियर लिग (आईपीएल) जस्ता अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने सम्भावनाबारे पनि उनले चर्चा गरेका छन्।
लामिछानेले दीर्घकालीन मित्रता र सहकार्यका लागि पारस्परिक विश्वास सबैभन्दा महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धका बाँकी चुनौतीहरूलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।










Facebook Comments