काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिले नेपाल–भारत सीमा सम्बन्धी विषयमा थप गम्भीर छलफलको वातावरण सिर्जना गरेको जनाएको छ।

मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमा क्षेत्रमा दुवै देशका तर्फबाट भू–उपयोगका विषय उठ्दै आएको उल्लेख गर्दै यसले सीमा समस्यालाई संवादमार्फत समाधानतर्फ लैजान मद्दत पुग्ने बताए।

ad

उनका अनुसार प्रधानमन्त्रीको भनाइले सीमासम्बन्धी मुद्दालाई नयाँ ढंगले उठान गर्न आधार प्रदान गरेको छ, जसले नेपालका पक्षलाई थप स्पष्ट र मजबुत बनाउने अपेक्षा गरिएको छ।

महामन्त्री बुर्लाकोटीले रास्वपा नेपाली भूमि अतिक्रमणको विषयमा स्पष्ट अडानमा रहेको र मिचिएको भूभाग फिर्ता हुनुपर्ने पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताए।

उनले प्रधानमन्त्री शाहले उपयुक्त समयमा आफ्नो अभिव्यक्तिबारे आवश्यक स्पष्टीकरण दिने विश्वास व्यक्त गर्दै राजनीतिक दलहरूले यस्ता विषयलाई लिएर संसदको कामकारबाही अवरुद्ध गर्नु उचित नहुने धारणा समेत राखे।