काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता गरेका छन्।

मंगलबार भएको उक्त भेटमा भारत–नेपाल सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको जनाइएको छ। भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत लामिछाने र उनको टोलीसँग भेट गर्न पाएकोमा खुशी व्यक्त गर्दै छलफल मुख्यतः भारत–नेपाल विकास सहकार्य तथा दुई देशका नागरिकबीचको सम्बन्ध सुदृढीकरणमा केन्द्रित रहेको बताएका छन्।

ad

उनले विकास साझेदारी र जनस्तरको सम्बन्धले दुवै देशको समृद्धि र आपसी सहयोगलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

भारत भ्रमणका लागि लामिछाने सोमबार नयाँ दिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले मंगलबार भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको समेत भ्रमण गरेका थिए।