धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध उनकै पार्टीका प्रदेशसभा सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

मंगलबार प्रदेशसभा परिसरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बहुमत सांसदहरूको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको हो। दलभित्र लामो समयदेखि नेतृत्व परिवर्तनको माग उठ्दै आए पनि त्यसको सुनुवाइ नभएपछि असन्तुष्ट पक्षले औपचारिक रूपमा अविश्वासको बाटो रोजेको जनाएको छ।

ad

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ जना सांसद रहेकामा एक सांसद प्रकाश देउवा लामो समयदेखि विदेशमा रहेकाले हाल १७ जना सांसद सक्रिय छन्। तीमध्ये ९ जना सांसदले प्रस्तावमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ।

मुख्यमन्त्री शाहको कार्यशैली र सरकार सञ्चालनप्रति असन्तुष्टि जनाउँदै केही सांसदहरूले विगतदेखि नै नेतृत्व परिवर्तनको माग गरिरहेका थिए। तर उक्त मागलाई बेवास्ता गरिएको निष्कर्षसहित असन्तुष्ट समूहले अविश्वास प्रस्ताव अघि बढाएको हो।

यसअघि मुख्यमन्त्री शाहले आफूलाई बहुमत सांसदहरूको समर्थन रहेको दाबी गर्दै बहुमतको विश्वास गुमेको प्रमाणित भए संसदीय दलको नेताको पद छाड्न तयार रहेको अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै उनको समर्थन र विपक्षमा सांसदहरूको धार स्पष्ट पार्ने प्रयास सुरु भएको थियो।

कांग्रेसभित्रको आन्तरिक विवाद यसअघि पनि सार्वजनिक हुँदै आएको थियो। केही समयअघि पार्टीका महामन्त्री गगन थापा धनगढी पुगेका बेला समेत प्रदेश सरकारको नेतृत्व तथा मन्त्रीमण्डलमा हेरफेर गर्नुपर्ने माग सांसदहरूले उठाएका थिए।

अविश्वास प्रस्ताव दर्तासँगै सुदूरपश्चिम कांग्रेसको आन्तरिक राजनीति नयाँ मोडमा पुगेको छ भने प्रदेश सरकारको आगामी नेतृत्वबारे समेत चासो बढेको छ।