काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन्।

पाँचदिने औपचारिक भारत भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा नवीनसँग भेट गरेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशबीच सहकार्यका सम्भावित क्षेत्रहरू विस्तार गर्ने तथा राजनीतिक तहमा संवादलाई अझ प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

ad

रास्वपाका अनुसार छलफलमा दुई छिमेकी मुलुकबीचको आपसी समझदारी, सहकार्य र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयले पनि प्राथमिकता पाएको थियो।

यता, नेपाल–भारत सम्बन्धसँग जोडिएका विषयहरू सार्वजनिक बहसमा रहेका बेला लामिछानेको भारत भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। विशेषगरी सीमासम्बन्धी विषयमा हालै व्यक्त भएका धारणा र त्यसपछि उत्पन्न राजनीतिक प्रतिक्रियाका बीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा विश्लेषण गरिएको छ।

लामिछानेको भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँगका अन्य भेटघाट तथा द्विपक्षीय हितका विषयमा समेत छलफल जारी रहने बताइएको छ।