काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि भारत पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेले भ्रमणका क्रममा भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेलाई भाजपा महासचिव अरुण सिंह तथा पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।

ad

लामिछानेको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ। टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

भ्रमण तालिकाअनुसार लामिछानेले मंगलबार भाजपा मुख्यालयमा पार्टी अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नेछन्। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेठ २० गते शिष्टाचार भेट तय भएको बताइएको छ।

यसैगरी भारतीय विदेशमन्त्री एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि छलफल हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी हितका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ।

पाँच दिने भ्रमण सम्पन्न गरी लामिछाने नेतृत्वको टोली जेठ २२ गते नेपाल फर्कने कार्यतालिका रहेको छ।