
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको टिप्पणी गर्दै त्यसमा समर्थन जनाउने सांसदहरूप्रति पनि प्रश्न उठाएका छन्। उनले संसद्मा ताली बजाएर समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई मतदाताले जवाफदेही बनाउनुपर्ने बताएका हुन्।
रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व र गैरजिम्मेवार रहेको दाबी गरे। राष्ट्रको संवेदनशील विषयमा बोल्दा उच्च जिम्मेवारीबोध आवश्यक हुने उल्लेख गर्दै उनले त्यस्ता अभिव्यक्तिले मुलुकको छवि र जनभावनामा असर पार्न सक्ने बताए।
प्रधानमन्त्रीले आफ्नो भनाइबारे संसद्मा स्पष्ट पार्दै आवश्यक परे सच्याउनुपर्ने धारणा राख्दै थापाले लोकतान्त्रिक व्यवस्थामा सरकारलाई जवाफदेही बनाउने दायित्व प्रतिपक्षको हुने बताए। उनले कांग्रेसले त्यस भूमिकालाई निरन्तर निर्वाह गर्ने पनि उल्लेख गरे।
सभापति थापाले प्रतिनिधिसभाबाट हालै पारित गरिएको 'प्रतिनिधि सभा नियमावली २०८३' सम्बन्धमा पनि असन्तुष्टि व्यक्त गरे। नियमावली पारित गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै उनले आवश्यक परे कानुनी उपचारको बाटो अपनाइने संकेत गरे।
पार्टी संगठनका विषयमा बोल्दै थापाले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाइने बताए। उनले कार्यकर्ताको विश्वास र मूल्याङ्कनलाई आधार बनाएर नेतृत्व चयन गर्ने नीति अघि बढाइने जानकारी दिए।
त्यस्तै, आगामी चैतभित्र सबै भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको उल्लेख गर्दै पार्टीको दायरा विस्तार गरी नयाँ समूह र व्यक्तिलाई पनि कांग्रेससँग जोड्ने योजना रहेको उनले बताए।










Facebook Comments