काठमाडौं । प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले आफ्ना जनवर्गीय संगठनहरूलाई सक्रिय परिचालन गर्दै सडकदेखि विभिन्न मोर्चासम्म विरोधका गतिविधि सञ्चालन गर्ने जनाएको छ।

जनवर्गीय संगठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति संसदमार्फत आम जनतासँग क्षमायाचना गर्नुपर्ने माग गरिएको छ। उक्त अभिव्यक्तिले जनभावनामा आघात पुगेको दाबी गर्दै पार्टीले त्यसविरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अघि सारेको हो।

ad

घोषित कार्यक्रमअनुसार पार्टीसँग आबद्ध विभिन्न जनवर्गीय संगठनहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नेछन्। साथै, देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने अभियान पनि सञ्चालन गरिनेछ।

नेकपाले असार १८ गते संयुक्त विरोध प्रदर्शन, १९ गते युवाहरूको नेतृत्वमा मशाल जुलुस तथा २१ गते काठमाडौंमा विभिन्न जनसंगठनहरूको सहभागितामा वृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको जनाएको छ।

पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा सडक, सदन र अन्य सबै उपलब्ध लोकतान्त्रिक माध्यमबाट आवाज उठाइने स्पष्ट पारेको छ।