
काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रलाई थप समावेशी बनाउन आवश्यक रहेको बताएकी छन्। दलित समुदायको प्रतिनिधित्व, समावेशी सञ्चार र संविधान प्रदत्त अधिकारको कार्यान्वयनबारे आयोजित कार्यक्रममा उनले राष्ट्रिय सञ्चारमाध्यममा दलित समुदायको सहभागिता अझै सन्तोषजनक नरहेको उल्लेख गरिन्।
भण्डारीले दलित समुदायले आफ्नो श्रम, सीप र शिल्पमार्फत राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै संविधानलाई दलित समुदायको आत्मसम्मानसँग जोडिएको दस्ताबेजका रूपमा व्याख्या गरिन्। संवैधानिक अधिकार सुनिश्चित भए पनि व्यवहारिक कार्यान्वयनमा अझै चुनौती कायम रहेको उनको भनाइ थियो।
उनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, पत्रकारको सुरक्षा र विभेदविरुद्ध सञ्चार क्षेत्रको सक्रिय भूमिकामा जोड दिइन्। कलम र आवाजमार्फत सामाजिक न्यायको पक्षमा निरन्तर अभियान चलाउन उनले आग्रह गरिन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले दलित पत्रकारहरूको संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताउँदै दलित अधिकार कार्यान्वयनका लागि एकताबद्ध प्रयास अपरिहार्य रहेको धारणा राखे।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले देशभरका दलित पत्रकारलाई एक सूत्रमा बाँध्ने उद्देश्यसहित संगठन विस्तार गरिएको जानकारी दिए। उनले पत्रकारिता क्षेत्रमा समावेशिताको अभ्यासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले पत्रकारिताको विश्वसनीयता जोगाउन स्वस्थ सूचना प्रवाह आवश्यक रहेको बताए। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी तथा जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विकले पनि सञ्चार क्षेत्रमा सीमान्तकृत समुदायको आवाजलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा सञ्चार, साहित्य र सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। स्वर्गीय टीआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रामप्रसाद आचार्य, जनक सापकोटा र विनोद परियार सम्मानित भएका थिए।










Facebook Comments