नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन्। कांग्रेस सभापति गगन थापाले आइतबार कटुवाललाई संगठनको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएका हुन्।

कांग्रेसका अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले वैशाख २१ गते गरेको निर्णयअनुसार विधानको व्यवस्था बमोजिम स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई मनोनयन गरिएको हो।

ad

धनकुटा निवासी कटुवाललाई संगठनको महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गराउने मुख्य जिम्मेवारी दिइएको छ। यसका लागि ११ बुँदे कार्यादेश र कार्यविवरणसमेत हस्तान्तरण गरिएको कांग्रेसले जनाएको छ।

लामो समयदेखि नेविसंघ तदर्थ संरचनामार्फत सञ्चालन हुँदै आएको थियो। यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई अध्यक्षको जिम्मेवारी दिएका थिए।

निर्धारित अवधिभित्र महाधिवेशन सम्पन्न गर्न नसकेपछि कांग्रेसले आफ्ना पाँच भ्रातृ संस्थालाई स्वतः विघटन गरेको थियो। त्यसयता नेपाल महिला संघ, तरुण दल र नेविसंघमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको छ।

कटुवालको नियुक्तिसँगै नेविसंघको सांगठनिक गतिविधि पुनः सक्रिय हुने र महाधिवेशनको तयारीले गति लिने अपेक्षा गरिएको छ।