दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको सु.प. ०१००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप भैरवी गाउँपालिका–७ कालिगौडास्थित भित्री सडक खण्डमा दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ब्रेक फेल भएपछि जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनाको समयमा जिपमा आठ जना सवार रहेका थिए।

ad

दुर्घटनामा शुभकालिका गाउँपालिका–५ का चालक कलबहादुर रोकाय, वडा नम्बर ४ का मित्र सुनार र वडा नम्बर ६ की पुल्तिसरा विकको मृत्यु भएको प्रहरी प्रमुख श्रवणकुमार विकले जानकारी दिए।

गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा भरत विक, कलम सुनार, सुमत विक र नैन सुनार घाइते भएका छन्। घाइतेमध्ये सुमत विक र नैन सुनारलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ।

घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।