काठमाडौं महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ता गराउन माग गर्दै ६ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार हालसम्म चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ बराबरको बचत रकम फिर्ताका लागि निवेदन दर्ता भएको छ।

सहकारी विभाग प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गत वैशाख १७ गतेयता ६ हजार ३०० बचतकर्ताले आफ्नो बचत फिर्ता गरिदिन माग गर्दै निवेदन दिएका हुन्। उनका अनुसार अधिकांश उजुरी एक लाखदेखि पाँच लाख रुपैयाँसम्म बचत गरेका सदस्यबाट प्राप्त भएका छन्।

ad

विभागको तथ्यांकअनुसार उजुरी दिने बचतकर्तामध्ये करिब ७८ प्रतिशत साना बचतकर्ता छन्। दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म जम्मा गर्दै आएका सर्वसाधारणको संख्या उल्लेख्य रहेको प्रमुख काफ्लेले बताए।

यसैबीच, काठमाडौं महानगरपालिका–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले हालै ३४ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। दुई दिनको अवधिमा एक लाख ५० हजार रुपैयाँसम्म बचत गरेका सदस्यलाई रकम फिर्ता गरिएको विभागले जनाएको छ।

विभागका अनुसार उक्त सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गरेका सदस्यलाई पनि रकम फिर्ता गर्ने योजना बनाएको छ।

महानगरले बचतकर्ताको रकम फिर्ता गराउने तथा सहकारीबाट ऋण असुली प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग समन्वय गर्दै आएको जनाएको छ। विभागले बचतकर्ता र सहकारी सञ्चालकबीच संवाद तथा मिलापत्र गराउने प्रयास गर्दै आएको छ।

प्रमुख काफ्लेका अनुसार बचत फिर्ताको मागसहित प्राप्त निवेदनका आधारमा दुवै पक्षबीच छलफल गराइन्छ। वडास्तरमा समस्या समाधान हुन नसके विभागले प्रत्यक्ष पहल गर्ने र सञ्चालक सम्पर्कमा आउन नमाने कारबाहीका लागि सिफारिससमेत गरिने व्यवस्था रहेको उनले बताए।