
काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले हिजो संसदमा दिएको भूमिसम्बन्धी अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील विषयलाई अनावश्यक रूपमा विवादमा तानेको निष्कर्ष निकाल्दै संसदीय अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन औपचारिक माग गर्ने निर्णय गरेका हुन्। आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएका छन्।
प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा दिएको एक अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमै आएर प्रष्टीकरण दिनुपर्ने माग समेत गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको बैठक बसेको थियो। बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली तथा श्रम संस्कृति पार्टीका आरेन राईलगायतका नेताहरू सहभागी थिए ।
त्यसैगरी, एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल, एमालेका प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, कांग्रेसका सचेतक निश्कल राईसहित अन्य नेताहरू पनि बैठकमा सहभागी थिए ।










Facebook Comments