
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे आइतबार संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ।
आज विज्ञप्ति जारी गर्दै नेकपाले प्रधानमन्त्री बालेनले आइतबार शाहले भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको र त्यो विषय आफू प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको बताएकोमा ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भनेको छ।
नेकपाले जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल ‘क्रस होल्डिङ’ भिन्न विषय भएको पनि बताएको छ।
भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको ऑतक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो, नेकपाले भनेको छ।
सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भहरूको आधारमा निर्धारण भएको नेपाल(भारत अन्तर्राष्ट्रिय सीमारेखाले गर्दा सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई कब्जा भनिँदैन। यसलाई जग्गाको भोगचलनको अवस्था भनिन्छ । देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ, विज्ञप्तिमा भनिएको छ।
नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसलाई कूटनीतिक माध्यमवाट हल गर्नुपर्छ भन्नेमा नेकपा स्पष्ट रहेको पनि विज्ञप्तिमा उल्लेख छ। तर, हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा गरेको छैन भन्ने तथ्यमा टेकेर मात्रै हाम्रो दाबी कायम रहने नेकपाको भनाइ छ।
यही आधारमा लिम्पियाधुरा क्षेत्रमा नेपालले आफ्नो दाबी कायमै राखी चुच्चे नक्सा जारी गरेको छ। यता, सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले हालसम्म पनि सार्वजनिक गरेको छैन। यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीबाट व्यक्त धारणाले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुऱ्याएको छ । अतः उक्त भनाइ तत्काल सच्याउन, संसद्को रेकर्डवाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ, विज्ञप्तिमा उल्लेख छ ।










Facebook Comments