काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बेलुका सचिवालय बैठक बोलाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक भर्चुअल माध्यमबाट राति ८ बजे बस्ने तय गरिएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि तथा संगठनात्मक विषयमा समीक्षा र छलफल गरिने कार्यसूची रहेको जनाइएको छ। साथै, पार्टीको आगामी महाधिवेशनको तयारी र त्यससँग सम्बन्धित विषयहरू पनि बैठकको एजेन्डामा समावेश हुनेछन्।

ad

पार्टी स्रोतका अनुसार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे पनि बैठकमा छलफल हुन सक्ने सम्भावना छ। 

प्रधानमन्त्रीले संसदमा सांसदहरूको जिज्ञासाको जवाफ दिने क्रममा भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतको सीमा अतिक्रमण गरेको हुनसक्ने आशय व्यक्त गरेका थिए।

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा व्यापक बहस र आलोचना भइरहेको छ। यसै सन्दर्भमा रास्वपाले आफ्नो धारणा र आगामी रणनीतिबारे समेत बैठकमा विचार–विमर्श गर्न सक्ने अनुमान गरिएको छ।