
काठमाडौं। नेपाल तरुण दलले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर चासो र असहमति व्यक्त गरेको छ। संगठनले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा नकारात्मक प्रभाव पारेको जनाएको छ।
तरुण दलका अध्यक्ष मनिष कोइरालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको संसदीय प्रस्तुति अपेक्षाअनुरूप परिपक्व र जिम्मेवार हुन नसकेको टिप्पणी गरिएको छ। विज्ञप्तिअनुसार आइतबार प्रतिनिधिसभामा आयोजित प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले व्यक्त गरेको धारणा आम नागरिकका लागि आश्चर्यजनक बनेको उल्लेख गरिएको छ।
संगठनले विशेषगरी प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति आपत्ति जनाउँदै यस्तो टिप्पणी तथ्य र प्रमाणबिना गर्नु उपयुक्त नहुने जनाएको छ। तरुण दलले उक्त अभिव्यक्तिलाई राष्ट्रिय हित र संवेदनशील कूटनीतिक विषयसँग जोडिएको भएकाले थप जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्ने विषयका रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा राष्ट्रियता, सार्वभौमसत्ता तथा सीमासम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट, तथ्यमा आधारित र परिपक्व हुनुपर्नेमा जोड दिइएको छ। साथै, नागरिकको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा पनि सरकारबाट रचनात्मक र उत्तरदायी भूमिका अपेक्षित रहेको उल्लेख गरिएको छ।
तरुण दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण सबैको साझा दायित्व भएको बताउँदै देशको सकारात्मक अन्तर्राष्ट्रिय छवि निर्माणका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी र आम नागरिकबीच सहकार्य र एकता आवश्यक रहेको धारणा व्यक्त गरेको छ।










Facebook Comments