
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको कडा आलोचना गर्दै त्यसले प्रधानमन्त्रीको नैतिक जिम्मेवारीमाथि प्रश्न उठाएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले नेपालले भारतको केही भूमि अतिक्रमण गरेको हुनसक्ने आशयको प्रधानमन्त्रीको भनाइलाई अत्यन्त आपत्तिजनक र राष्ट्रहितविपरीत रहेको टिप्पणी गरे।
उनका अनुसार देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने जिम्मेवारी सरकार प्रमुखको हुने भएकाले यस्ता विषयमा तथ्यहीन वा विवादास्पद अभिव्यक्ति दिनु उचित होइन।
रावलले प्रधानमन्त्रीको मुख्य दायित्व नेपालको भूभाग र राष्ट्रिय हितको रक्षा गर्नु भएको उल्लेख गर्दै संसदमा नेपालले नै छिमेकी मुलुकको भूमि मिचेको भन्ने धारणा प्रस्तुत गर्नु गलत सन्देश दिने कार्य भएको बताए। उनले यस्तो अभिव्यक्तिले नेपालको भू–राजनीतिक अडान र राष्ट्रिय स्वाभिमानमा असर पुग्न सक्ने तर्क गरे।
उनले प्रधानमन्त्रीले यदि आफ्नो भनाइमा तथ्यगत आधार रहेको दाबी गर्ने हो भने नेपालले भारतको कुन भूभाग, कहाँ र कहिलेदेखि अतिक्रमण गरेको भन्ने विषय स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन्।
रावलले प्रधानमन्त्रीको भनाइले देशभित्र व्यापक चासो र बहस सिर्जना गरेको उल्लेख गर्दै सरकार तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनका अनुसार राष्ट्रिय सीमा र भूभागसँग सम्बन्धित विषयमा जनतालाई स्पष्ट जानकारी दिनु सरकारको दायित्व हो।
प्रधानमन्त्री शाहको संसदमा व्यक्त गरिएको भनाइलाई लिएर विभिन्न राजनीतिक दल, नेता तथा सार्वजनिक व्यक्तित्वहरूबाट निरन्तर प्रतिक्रिया आइरहेका बेला रावलले पनि औपचारिक रूपमा आफ्नो असहमति जनाएका हुन्।










Facebook Comments