
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको सीमासम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसबारे सरकारसँग स्पष्ट धारणा माग गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै राष्ट्रिय सीमा र सार्वभौमिकतासँग जोडिएका विषय अत्यन्त संवेदनशील हुने भएकाले संसदको मञ्चबाट यस्ता विषय उठाउँदा पर्याप्त तथ्य र आधार प्रस्तुत हुनुपर्ने बताएका छन्।
उनले भारतद्वारा नेपाली भूभाग अतिक्रमणको विषय लामो समयदेखि चर्चामा रहे पनि नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति प्रमाणबिनै सार्वजनिक गर्नु उचित नभएको राप्रपाको धारणा रहेको उल्लेख गरे।
लिङ्देनले प्रधानमन्त्री तथा नेपाल सरकारसँग उक्त विषयको वास्तविकता सार्वजनिक गरी स्पष्ट जवाफ दिन आग्रह गरेका छन्। साथै, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यस विषयमा आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहको संसदमा गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दल र नेताहरूले प्रतिक्रिया जनाइरहेका बेला राप्रपाले समेत औपचारिक रूपमा आफ्नो असहमति व्यक्त गर्दै सरकारसँग स्पष्टीकरणको माग गरेको हो।










Facebook Comments