काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट आन्दोलनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत रहेका छन्। 

आइतबार मेडिसिटी अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य विवरणमा उनलाई स्वास्थ्य असहजता देखिएपछि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ।

ad

चिकित्सकहरूको प्रारम्भिक परीक्षण तथा आवश्यक स्वास्थ्य जाँचपछि प्रचण्डमा सामान्य प्रकृतिको निमोनिया संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। त्यसलगत्तै आवश्यक उपचार प्रक्रिया सुरु गरिएको जानकारी दिइएको छ।

अस्पतालका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर छ र उपचारप्रति सकारात्मक सुधार देखिएको छ। स्वास्थ्य अवस्थाको निरन्तर निगरानी तथा पूर्ण रूपमा निको हुने सुनिश्चितताका लागि उनलाई अझै दुईदेखि तीन दिनसम्म अस्पतालमै राखेर उपचार गरिनेछ।

मेडिसिटी अस्पतालले प्रचण्डको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आवश्यक परे थप स्वास्थ्य अद्यावधिक सार्वजनिक गरिने जनाएको छ।