काठमाडौं। प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको छ। एमालेका सांसद गुरुप्रसाद बरालले उक्त भनाइले राष्ट्रिय स्वाभिमानमा प्रश्न उठाएको टिप्पणी गरेका छन्।

आइतबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले प्रधानमन्त्रीले नेपालले भारतको केही भूभाग अतिक्रमण गरेको विषय आफू प्रधानमन्त्री बनेपछि मात्र थाहा पाएको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले नागरिकमा नकारात्मक सन्देश गएको बताए।

ad

उनले प्रधानमन्त्रीको जिम्मेवार पदमा बसेको व्यक्तिबाट सीमाजस्तो संवेदनशील विषयमा यस्तो टिप्पणी आउनु दुःखद र आपत्तिजनक भएको धारणा राखे। बरालका अनुसार उक्त अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छविमा असर पार्न सक्ने चिन्ता उत्पन्न गरेको छ।

सांसद बरालले सीमासम्बन्धी विषय राष्ट्रिय प्रतिष्ठा र सार्वभौमिकतासँग जोडिएको मुद्दा भएकाले सरकार प्रमुखले यस्ता विषयमा बोल्दा पर्याप्त तथ्य, संवेदनशीलता र जिम्मेवारीबोध देखाउनुपर्ने बताए। उनले प्रधानमन्त्रीको भनाइले देशभक्त नेपालीहरूको भावनामा चोट पुगेको दाबी गर्दै यस विषयलाई आफ्नो पार्टीले गम्भीर रूपमा उठाउने संकेत गरे।

उनले पछिल्लो समय प्रधानमन्त्रीबाट आउने केही अभिव्यक्तिले पनि नेपाली जनताको प्रतिष्ठा र राष्ट्रिय हितमा असर पुग्ने चिन्ता बढाएको उल्लेख गरे।