काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षा, महँगी, बेरोजगारी, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकाससँग सम्बन्धित विविध समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा बोल्दै सांसद वासना थापाले आगामी बजेटले कर्णाली क्षेत्रका शिक्षा, स्वास्थ्य र रोजगारीका समस्यालाई अपेक्षित प्राथमिकता दिन नसकेको टिप्पणी गरिन्। यस्तै, सांसद विश्वराज पोखरेलले कृषि क्षेत्रमा दुई करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने सरकारी व्यवस्था सकारात्मक भए पनि ग्रामीण किसानका लागि यस्तो लगानी रकम निकै ठूलो चुनौती हुन सक्ने बताए।

ad

सांसद बुद्धरत्न महर्जनले ललितपुरको गोदावरी नगरपालिका–८, डुकुछाप क्षेत्रमा सडक र पुल निर्माण लामो समयदेखि अधुरो रहँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको उल्लेख गरे। सांसद भारतकुमार स्वाँरले आगामी आर्थिक वर्षको बजेटमार्फत सेती लोकमार्गको २५९ किलोमिटर खण्ड तथा टीकापुर–ताक्लाकोट–मानसरोवर मार्गलाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्न आग्रह गरे।

सांसद भरतबहादुर खड्काले २०७९ सालको भूकम्पबाट प्रभावित डोटी जिल्लाका विभिन्न बस्ती, विशेषगरी पूर्वीचौकी गाउँपालिकाका पीडितहरू अझै स्थायी आवासबाट वञ्चित रहेको भन्दै पुनःस्थापनाको कामलाई तीव्रता दिन सरकारसँग माग गरे।

त्यसैगरी, सांसद भूमिका श्रेष्ठले धनकुटाको सहिदभूमि गाउँपालिकामा हुरीका कारण पुल क्षतिग्रस्त हुँदा विद्युत् सेवा पटक–पटक अवरुद्ध भएको उल्लेख गर्दै तत्काल समाधानको आवश्यकता औँल्याइन्।

सांसद मनमाया विकले आर्थिक अभावका कारण दलित समुदायका धेरै बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहनुपरेको बताइन्। विशेषगरी मधेसी दलित समुदायका बालबालिका थप जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनीहरूका लागि आवासीय विद्यालयको व्यवस्था गर्नुपर्ने माग गरिन्।

बैठकमा अन्य सांसदहरूले पनि जनजीविका, पूर्वाधार, सामाजिक न्याय, विपद् व्यवस्थापन तथा विकास निर्माणसँग सम्बन्धित विविध विषय उठाउँदै सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका थिए।