
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण अझै अनिश्चित बनेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने यसै साता भारत प्रस्थान गर्ने तयारीमा छन् । एकातिर सरकार प्रमुखको भ्रमणबारे स्पष्ट निर्णय नआउँदा अन्योल कायम छ भने अर्कोतर्फ सत्तारुढ दलका प्रमुख नेताको भ्रमणले राजनीतिक र कूटनीतिक वृत्तमा नयाँ चर्चा सुरु गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामिछाने जेठ १८ गते भारत जाने र दुई दिनको भ्रमणपछि जेठ २० गते फर्किने तयारी छ । यद्यपि दुवै पक्षबाट औपचारिक कार्यक्रम सार्वजनिक गरिएको छैन । भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीसँग भेटवार्ता हुने अनुमान गरिएको छ ।
रास्वपा स्रोतका अनुसार भ्रमण टोलीमा सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरासमेत सहभागी हुनेछन् । यो भ्रमणलाई भारतले नेपालमा उदाउँदै गरेको नयाँ राजनीतिक शक्तिसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा हेरेको विश्लेषण भइरहेको छ ।
यता प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणको निम्तो स्वीकार गरे पनि मिति र एजेन्डा तय हुन सकेको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भ्रमणबारे आन्तरिक छलफल जारी रहे पनि ठोस निष्कर्ष निस्किएको छैन ।
यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले मौरिससमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्तो दिएको र त्यसलाई प्रारम्भिक रूपमा स्वीकार गरिएको बताएका थिए । तर भ्रमणको औपचारिक तयारी अघि नबढ्दा प्रक्रिया अलपत्र जस्तै देखिएको छ ।
विश्लेषकहरूका अनुसार सरकार प्रमुखको भ्रमण तय नभइरहेका बेला राजनीतिक दलका प्रमुखको भारत भ्रमण हुनु असामान्य होइन । पूर्वराजदूत लोकराज बराल भन्छन्, “यस्ता भ्रमणहरू कूटनीतिमा स्वाभाविक हुन्छन्। पार्टी–पार्टी सम्बन्ध विस्तारका लागि पनि यस्ता भेटघाट उपयोगी हुन्छन्।”
तर कतिपय कूटनीतिक जानकारहरूले सरकार प्रमुखको भ्रमण अघि पार्टी प्रमुखको सक्रियताले नयाँ राजनीतिक सन्देश दिन सक्ने बताउँछन् । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूका अनुसार छिमेकी मुलुकसँगको सम्बन्ध केवल सरकार–सरकारमा सीमित नरहेर दल–दल तहसम्म विस्तार हुनु अहिलेको प्रवृत्ति हो ।
यसअघि भारतले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा दिएको भए पनि भ्रमण तय हुन सकेको छैन । सरकार गठनपछि शाहले कूटनीतिक भेटघाटमा अपनाएको फरक शैली र विदेशी प्रतिनिधिसँगको सीमित सम्पर्कले समेत यस विषयलाई थप चासोको केन्द्र बनाएको छ ।
भारतसँग सीमा विवाद र कूटनीतिक असहमति कायम रहेका बेला लामिछानेको भ्रमण र प्रधानमन्त्रीको अनिश्चित यात्रा सँगसँगै आउँदा नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक संकेत देखिन थालेको विश्लेषण गरिएको छ ।










Facebook Comments