
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफ्नो पार्टीको प्रमुख प्राथमिकता भएको दोहोर्याउँदै जनताको हित, अधिकार र सहभागितालाई केन्द्रमा राखेर कांग्रेस अघि बढ्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले राज्यको निर्माण र राष्ट्रिय एकताको प्रक्रियामा थारु समुदायको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। उनले थारु समुदायको राज्य संरचनामा पहुँच विस्तार गर्न पार्टीले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।
थापाले बिपी कोइरालाको समयदेखि नै थारु समुदायलाई राजनीतिक जिम्मेवारीमा सहभागी गराउने अभ्यास भएको स्मरण गर्दै अहिले त्यसलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताए। उनले थारु संघलाई पार्टीको अभिन्न अंगका रूपमा लिँदै संगठन सुदृढीकरण र क्रियाशील सदस्यता विस्तारमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
उनका अनुसार थारु संघको नयाँ नेतृत्वले संगठन विस्तारसँगै नीति तथा संविधान संशोधनका विषयमा समेत सक्रिय बहस र पहल गर्नुपर्नेछ। उनले कांग्रेसले उठाउँदै आएको आर्थिक सुधारका प्रयासहरू बजेटमार्फत केही हदसम्म अघि बढे पनि न्यून आय भएका वर्गलाई लक्षित स्पष्ट कार्यक्रम अझै अपर्याप्त रहेको टिप्पणी गरे।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले थारु समुदायले देशको सीमा सुरक्षा, कृषि र आर्थिक गतिविधिमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए। उनले संविधानले दिएको अधिकारको रक्षा गर्दै थारु समुदायलाई मूलधारको राजनीतिमा अझ मजबुत रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
अर्का महामन्त्री गुरुराज घिमिरेले थारु समुदायलाई नेपालको मौलिक पहिचान बोकेको जातीय समूहका रूपमा चित्रण गर्दै सबै जाति र समुदायलाई जोड्ने साझा राजनीतिक शक्ति कांग्रेस भएको दाबी गरे। उनले राष्ट्रिय एकता र समावेशिताको आधार मजबुत बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्ने बताए।
पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिवादी सोचभन्दा माथि उठेर देशको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। सहमहामन्त्री योगेन्द्र चौधरीले विविधता नै नेपालको शक्ति भएको उल्लेख गर्दै सबै समुदायका नागरिकलाई समान राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले हिमाल, पहाड र तराईका नागरिकका अपेक्षा सम्बोधन गर्दै पहिचान र प्रतिनिधित्वको मुद्दालाई राज्य संरचनामा स्थापित गर्न कांग्रेसले विशेष ध्यान दिनुपर्ने बताए।
केन्द्रीय सदस्य गोपाल दहितले थारु समुदायको जनसंख्या उल्लेखनीय भए पनि पार्टीभित्र प्रतिनिधित्व कमजोर रहेको तथ्य प्रस्तुत गर्दै संगठनभित्र समानुपातिक सहभागिता आवश्यक रहेको औंल्याए।
केन्द्रीय सदस्य जीवन रानाले थारु समुदायको सांस्कृतिक र ऐतिहासिक पहिचान समृद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र राजनीतिक सशक्तीकरणमा अझै काम गर्नुपर्ने बताए।
पूर्वमन्त्री तेजुलाल चौधरीले संविधान जारी भएको एक दशक नाघिसक्दा पनि थारु समुदायको अपेक्षाअनुसार राज्य संरचनामा पर्याप्त प्रतिनिधित्व सुनिश्चित हुन नसकेको गुनासो गरे।
कार्यक्रममा सहभागी नेताहरूले थारु समुदायको अधिकार, प्रतिनिधित्व र सशक्तीकरणलाई पार्टीको नीति र व्यवहार दुवै तहमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।










Facebook Comments