
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता तथा पूर्व राष्ट्रिय उपाध्यक्ष श्याम जाजूले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक र कूटनीतिक सीमामा सीमित नभई आध्यात्मिक, धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त गहिरो र ऐतिहासिक रहेको बताएका छन्।
धार्मिक भ्रमणका क्रममा काठमाडौँ आएका नेता जाजूले पशुपतिनाथ मन्दिरको दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालप्रति आफूलाई सधैं अपनत्वको अनुभूति हुने बताए। उनले पाँचौँ पटक नेपाल भ्रमण गरेको उल्लेख गर्दै यहाँको संस्कृति, परम्परा र नेपालीहरूको व्यवहारले आफूलाई निरन्तर आकर्षित गर्ने बताए।
‘नेपाल आउँदा मलाई कहिल्यै परदेश आएको जस्तो लाग्दैन,’ उनले भने, ‘यहाँको आत्मीयता, संस्कार र धार्मिक वातावरणले नेपाल–भारत सम्बन्धलाई अझ विशेष बनाएको छ।’
जाजूले पशुपतिनाथ, केदारनाथ, बद्रीनाथ र अयोध्याजस्ता धार्मिक केन्द्रहरूलाई एउटै सांस्कृतिक र आध्यात्मिक सूत्रमा जोडेर धार्मिक पर्यटन विस्तार गर्न सकिने धारणा राखे। उनले अयोध्या र जनकपुरधामबीचको ऐतिहासिक सम्बन्धले पनि दुई देशका जनस्तरका सम्बन्धलाई थप मजबुत बनाएको बताए।
उनका अनुसार सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुले नै भारतको दृष्टिमा नेपालको विशेष महत्व झल्किन्छ।
आर्थिक पक्षबारे बोल्दै जाजूले भारत विश्व अर्थतन्त्रमा तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै छिमेकी देशको विकासबाट नेपालले पनि प्रत्यक्ष लाभ लिन सक्ने बताए। ‘छिमेकीको प्रगतिले छिमेकीलाई पनि अवसर दिन्छ,’ उनले भने, ‘भारतको आर्थिक वृद्धिको फाइदा नेपालले लिनुपर्छ।’
उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा भारतमा भइरहेको विकासको चर्चा गर्दै नेपालसँग सडक, रेल र हवाई सम्पर्क विस्तार हुँदै गएकोमा खुसी व्यक्त गरे।
दक्षिण एसियाका केही मुलुकमा देखिएको राजनीतिक अस्थिरताप्रति संकेत गर्दै उनले नेपालले स्थायित्व र विकासतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। ‘युवा नै परिवर्तनका संवाहक हुन्,’ उनले भने, ‘राष्ट्रलाई प्राथमिकता दिँदै अघि बढ्नुपर्छ।’
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. मिलनकुमार थापाले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन प्रवर्द्धनमार्फत आर्थिक विकाससँग जोड्नुपर्ने बताए। उनले धार्मिक पर्यटन नेपालका लागि महत्वपूर्ण आर्थिक आधार बन्न सक्ने उल्लेख गर्दै दुई देशबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
नेपाल–भारत सम्बन्धलाई केवल कूटनीतिक दृष्टिले मात्र होइन, जनस्तर, संस्कृति र आस्थाको साझा सम्बन्धका रूपमा अझ सुदृढ बनाउनुपर्ने निष्कर्ष वक्ताहरूले निकाले।










Facebook Comments