
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार संविधान, कानुन र जनहितविपरीत अघि बढे प्रतिपक्ष चुप लागेर नबस्ने चेतावनी दिएका छन्। उनले प्रतिपक्षको भूमिका केवल विरोधका लागि नभई लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारको संरक्षणमा केन्द्रित हुनुपर्ने स्पष्ट पारे।
शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सरकारका हरेक निर्णय जनहित र संविधानअनुकूल हुनुपर्नेमा जोड दिए। सरकार गलत बाटोमा गए त्यसको प्रतिवाद गर्न कांग्रेस सधैं तयार रहने उनको भनाइ थियो।
थापाले राज्य संयन्त्र, नीति तथा स्रोत–साधन कुनै निश्चित समूह वा वर्गको हितका लागि मात्र प्रयोग भए त्यसको विरोध गर्ने दायित्व प्रतिपक्षको हुने बताए। उनले राज्यका अवसरहरू सबै नागरिक, विशेषगरी निम्न वर्ग र वञ्चित समुदायसम्म समान रूपमा पुग्नुपर्ने आवश्यकता औंल्याए।
‘सरकारले संविधान विपरीत काम गर्छ भने कांग्रेस उभिन्छ, कानुनविपरीत जान्छ भने पनि कांग्रेस उभिन्छ,’ थापाले भने, ‘राज्यका स्रोत र अवसर कुनै एक पक्षलाई मात्र फाइदा पुग्ने गरी प्रयोग गरिन्छ भने पनि हामी त्यसको विरोध गर्छौं।’
उनका अनुसार प्रतिपक्षको भूमिका सत्ता विरोध मात्र होइन, लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने, गलत अभ्यास रोक्ने र नागरिक अधिकारको रक्षा गर्ने पनि हो।
थापाले सरकारले विभेदपूर्ण नीति अपनाए वा जनताको हितविपरीत निर्णय गरे कांग्रेस त्यसको प्रतिरोधमा उभिने दोहोर्याए। साथै, राज्यले सबै नागरिकलाई समान अवसर दिने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
उनको अभिव्यक्तिलाई कांग्रेसले आगामी दिनमा सरकारका निर्णयहरूमाथि अझ कडा निगरानी गर्ने संकेतका रूपमा पनि हेरिएको छ।










Facebook Comments