
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन्। भ्रमणको मुख्य राजनीतिक भेटघाटसँगै प्रवासमा रहेका नेपालीसँगको संवादलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ।
लामिछाने जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ। सो भ्रमणका क्रममा उनी भारतीय उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने तयारीमा छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकरलगायतका शीर्ष अधिकारीसँग औपचारिक भेट हुने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्।
यसैबीच, जेठ २१ गते नयाँदिल्लीस्थित लाजपत क्षेत्रमा नेपाली समुदायसँग विशेष अन्तरक्रिया कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रम नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुन लागेको हो र दिउँसो ३ बजेबाट सुरु हुने बताइएको छ।
कार्यक्रममा सभापति लामिछानेले भारतमा बसोबास गर्ने नेपालीहरूको समस्या, अवसर र अनुभवबारे प्रत्यक्ष संवाद गर्ने तयारी गरिएको छ। प्रवासमा रहेका नेपालीको अवस्था बुझ्ने र पार्टीको धारणा आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
रास्वपा स्रोतका अनुसार लामिछानेको भारत भ्रमण केवल औपचारिक राजनीतिक भेटमा सीमित नभई प्रवासमा रहेका नेपालीसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा पनि उपयोग गरिनेछ। भ्रमण टोलीमा सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरासमेत सहभागी हुने चर्चा छ।
लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धसँगै नयाँ राजनीतिक शक्तिको कूटनीतिक पहुँच विस्तारको रूपमा पनि हेरिएको छ। यही क्रममा प्रवासी नेपालीसँगको अन्तरक्रियालाई थप अर्थपूर्ण बनाउने प्रयास गरिएको बताइएको छ।










Facebook Comments