
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० पालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउने लक्ष्यसहित पार्टी अघि बढ्ने बताएका छन्। महिलाको राजनीतिक सहभागिता र नेतृत्वलाई संस्थागत रूपमा सुदृढ बनाउन कांग्रेसले अहिलेबाटै तयारी सुरु गरेको उनको भनाइ छ।
शनिबार नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै थापाले ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा कांग्रेसका तर्फबाट मेयर वा गाउँपालिका अध्यक्ष पदमा महिला उम्मेदवार उठाउने वातावरण बनाउनुपर्ने बताए। त्यसका लागि पार्टीका सबै तह र भ्रातृसंस्थाहरूले अहिलेदेखि नै योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।
उनले महिला नेतृत्व उत्पादन र उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन कांग्रेसले निर्वाचन ब्यूरो गठन गरिसकेको जानकारी दिए। साथै, भावी नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ स्थापना गरिएको र छिट्टै त्यसका लागि खुला आवेदन आह्वान गरिने बताए।
थापाका अनुसार आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले लिडरशिप एकेडेमीमार्फत आवश्यक प्रशिक्षण लिनुपर्नेछ। एकेडेमीले सञ्चालन गर्ने पाठ्यक्रम पूरा गरेपछि मात्रै उम्मेदवारका रूपमा योग्य मानिने व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारे।
महिलाको प्रतिनिधित्व बढाउने लक्ष्य सफल बनाउन बढीभन्दा बढी महिलालाई लिडरशिप एकेडेमीमा सहभागी गराउन आवश्यक रहेको उनको भनाइ थियो। उनले पार्टीका शुभेच्छुक तथा भ्रातृसंस्थाहरूलाई सम्भावित महिला नेतृत्व पहिचान गर्ने, उनीहरूलाई प्रोत्साहन गर्ने र प्रशिक्षणमा सहभागी गराउने अभियानमा सक्रिय हुन आग्रह गरे।
नेपाल थारु संघलगायत संगठनहरूले स्थानीय तहमा नेतृत्व क्षमता भएका महिला तथा युवाको खोजी गरी उनीहरूलाई पार्टीको नेतृत्व विकास कार्यक्रमसँग जोड्न महत्वपूर्ण भूमिका खेल्न सक्ने थापाले बताए। योग्य र सक्षम नेतृत्व उत्पादन नगरी पार्टीको दीर्घकालीन सुदृढीकरण सम्भव नहुने उनको धारणा थियो।
सभापति थापाले कांग्रेसभित्र नेतृत्व विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै निर्वाचन केन्द्रित तयारीलाई व्यवस्थित ढंगले अघि बढाइने बताए। उनले पार्टीलाई आधुनिक, प्रतिस्पर्धी र समावेशी बनाउने दिशामा विभिन्न संरचनागत सुधारका काम भइरहेको जानकारी पनि दिए।
यसै क्रममा उनले अधिवेशन सम्पन्न हुन बाँकी रहेका भ्रातृसंस्थाहरूको नेतृत्व चयन प्रक्रिया पनि चाँडै टुंगिने बताए। नेपाल विद्यार्थीसंघसहित नेतृत्व रिक्त रहेका संगठनहरूमा एक–दुई दिनभित्रै नयाँ नेतृत्व चयन गरिने जानकारी दिँदै उनले पार्टीका सबै संरचनालाई सक्रिय र चुस्त बनाउने अभियान जारी रहेको उल्लेख गरे।
कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, नेतृत्व विकास र महिला सहभागिता विस्तारलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको सन्देश थापाको अभिव्यक्तिबाट स्पष्ट देखिएको छ।










Facebook Comments