
काठमाडौं । आगामी साताभर देशका अधिकांश भू–भागमा वर्षाको गतिविधि जारी रहने भएको छ। स्थानीय वायु, पश्चिमी वायु प्रणाली तथा नेपालको दक्षिण क्षेत्रमा विकसित न्यूनचापीय प्रभावका कारण विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको साप्ताहिक मौसम पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा साताभर वर्षा तथा हिमपात हुन सक्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भने साताको सुरुआत र मध्यतिर तुलनात्मक रूपमा बढी वर्षा हुने र अन्तिमतिर मौसम केही खुल्ने सम्भावना छ।
पहाडी भू–भागमा कोशी प्रदेशका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ भने बागमती र गण्डकीका विभिन्न क्षेत्रमा पनि नियमित वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा साताको सुरु र मध्य अवधिमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना अधिक देखिएको छ।
विशेषगरी साताको प्रारम्भिक दिनमा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ। नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
तराई क्षेत्रमा पनि मौसम पूर्ण रूपमा सफा रहने अवस्था छैन। कोशी प्रदेशका केही स्थानमा साताभर वर्षाको सम्भावना रहनेछ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई भू–भागमा साताको सुरु र मध्यतिर मेघगर्जन, चट्याङ, हावाहुरी तथा कतिपय स्थानमा असिनासहित वर्षा हुन सक्ने विभागको प्रक्षेपण छ।
तापक्रमतर्फ हेर्दा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा साताको सुरुआती दिनमा अधिकतम र न्यूनतम तापक्रम केही घट्ने सम्भावना छ। यद्यपि साताको अन्त्यतिर तापक्रममा पुनः सामान्य वृद्धि हुन सक्ने बताइएको छ। अन्य प्रदेशमा भने तापक्रममा उल्लेखनीय परिवर्तन नदेखिने अनुमान गरिएको छ।
विभागका अनुसार दीर्घकालीन औसतसँग तुलना गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा तापक्रम सामान्यभन्दा केही बढी रहने सम्भावना छ। यद्यपि यी प्रदेशमा वर्षाको मात्रा भने औसतभन्दा कम रहने प्रक्षेपण गरिएको छ।










Facebook Comments