सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न सडक योजनका लागि बजेट विनियोजन गरेको छ। 

शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले  आगामी आर्थिक वर्ष करिब १ हजार किलोमिटर सडक कालोपत्रे र  २७५ वटा सडक निर्माण हुने जानकारी दिएका छन्। 

ad

उनले १ हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्ष भित्र सम्पन्न गर्ने बताएका छन्। 

यही वर्ष कमला-कञ्चनपुर, नारायणगढ बुटवल खण्ड स्तरोन्नति सम्पन्न

आगामी वर्ष काँकडभिट्टा-लौकही, कमल- बागमती, बुटवल-गोरुसिंगे, धानखोला-लमही  खण्ड अन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गर्ने बताएका छन्। 

पूर्वपश्चिम राजमार्गका लागि सरकारले ३७ अर्ब ४६ करोड विनियोजन गरेका छन्। 

काठमाडौं-तराई-मधेस द्रूतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरूङ निर्माण सम्पन्न गर्ने अर्थमन्त्री वाग्लेले बताएका छन्। 

द्रूत मार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन भएको छ। 

हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने ‍घोषणा गरेको छ। 

Ncell
यस अन्तर्गत घना वस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरू गर्दै ८ वटा सडक पुल निर्माण सम्पन्न गर्ने बजेटमा उल्लेख छ। यसका लागि ४ अर्ब ६५ करोड विनियोजन गरिएको छ। 

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला-गमगढी सडकको स्तरोन्नतिका लागि १ अर्ब विनियोजन गरिएको छ। 

पुष्पलाल-मध्यपहाडी राजमार्गको निर्माण आगामी तीन वर्षभित्र गरिसक्ने अर्थमन्त्री  वाग्लेले बताएका छन्। यसमा ६५ किलोमिटर सडक स्तरोन्नति र ५ वटा पुल निर्माण सम्पन्न गर्न २ अर्ब १६ करोड विनियोजन गरिएको उनले बताएका छन्। 

मदन भण्डारी राजमार्ग अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न १ अर्ब ४६ करोड रूपैयाँ विनियोजन गरिएको छ। 

३ वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणधीन पुल सम्पन्न गर्ने उनले बताएका छन्। 

राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठूला पुल निर्माण र स्तरोन्नति सम्पन्न गर्ने उनले बताएका छन्।  राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल, स्थानीय सडक पुलका लागि सरकारले ९ अर्ब ८७ करोड विनियोजन गरेको छ। 

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनीदेखि पोखरासम्मको चार लेन सडक शीघ्र सम्पन्न हुने मन्त्री वाग्लेले बताएका छन्। मुग्लिन-आबुखैरेनी  खण्डको निर्माण कार्य सुरू गर्ने र नागढुंगा- मुग्लिन खण्ड अन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति हुने उनले बताएका छन्। 

नागढुंगा सुरूङमार्ग आगामी साउनदेखि सञ्चालनमा आउने मन्त्री वाग्लेले बताएका छन्।

यी सडकखण्डका लागि ६ अर्ब ५५ करोड विनियोजन गरिएको उनले बताए। 

कर्णाली करिडोरको ३१ किलोमिटर कालोपत्रे र ग्राभेल, कालीगण्डकी करिडोरको २१ किलोमिटर कालोपत्रे, कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर कालोपत्रेका लागि कुल ६ अर्ब २५ करोड विनियोजन गरिएको छ। 

गल्छी-रसुवागढी-स्याफ्रुबेसी सडक स्तरोन्नति गर्न १ अर्ब ३५ करोड विनियोजन गरिएको छ। 

सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्ड द्रूत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्ने मन्त्री वाग्लेले बताएका छ‍न्।  सिद्धबाबा सुरूङमार्ग आगामी आर्थिक वर्षभित्र सुरू हुने उनले बताएका छन्। 

महाकाली करिडोरको दार्चुला-टिंकर खोलाको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको उनले बताएका छन्। 

मेची, अरूण, तमोर, भेरी र सेती करिडोरको खुटिया-दिपायल सडक स्तरोन्नति कार्यलाई तीव्रता दिइने उनले बताएका छन्। 

काठमाडौं चक्रपथ विस्तार अन्तर्गत कलंकी-बसुन्धरा खण्ड विस्तार कार्य सुरू गर्ने उनले बताएका छन्।  बसुन्धरा-चाबाहिल-कोटेश्वर खण्डको डिजाइन पनि सम्पन्न गर्ने उनले बताए। 

सडक सुरक्षाका लागि आगामी वर्ष २ अर्ब ४६ करोड विनियोजन गरिएको उनले बताए।