
काठमाडौं । प्रकाशचन्द्र परियारले लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै अर्को व्यवस्था नभई अझ सुदृढ गणतन्त्र नै भएको बताएका छन्। उनका अनुसार गणतन्त्रको वास्तविक सौन्दर्य सुशासन, पारदर्शिता र जनतामुखी सेवा प्रवाहमा निर्भर हुन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सत्तापक्षीय सचेतकसमेत रहेका परियारले आफू सामाजिक न्याय, समानता र विभेदविरुद्धको संघर्षबाट राजनीतिमा आएको उल्लेख गरे। उनले आफ्नो परिवारले समेत गणतन्त्र प्राप्तिको आन्दोलनमा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गरे।
उनका अनुसार २०६२/६३को जनआन्दोलनका क्रममा भएको दमनमा परी २२ वर्षको उमेरमै भाइ गुमाउनु परेको व्यक्तिगत पीडा उनको राजनीतिक यात्राको आधार बनेको हो। सोही अनुभवले आफूलाई पत्रकारिताबाट राजनीतिमा ल्याएको उनले बताए।
परियारले नेपालमा गणतन्त्रको यात्रा लामो ऐतिहासिक संघर्षबाट आएको उल्लेख गर्दै २००७ सालदेखि सुरु भएको लोकतान्त्रिक आन्दोलनले आजको व्यवस्थाको आधार तयार पारेको धारणा राखे। उनका अनुसार संविधानसभा, जनआन्दोलन र विभिन्न राजनीतिक संघर्षको परिणामस्वरूप आजको गणतान्त्रिक व्यवस्था स्थापित भएको हो।
उनले गणतन्त्रले नेपाली समाजमा समावेशिता र समानताको ढोका खोलेको बताए। जातीय, क्षेत्रीय र लैंगिक विविधता भएको मुलुकमा सबै नागरिकले राज्यको सर्वोच्च पदसम्म पुग्ने अवसर पाउनु नै यसको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
राष्ट्रपतिहरूको उदाहरण दिँदै उनले गणतन्त्रले 'जनताको छोरा–छोरी पनि राज्य प्रमुख बन्न सक्छन्' भन्ने मान्यता स्थापित गरेको बताए।
गणतन्त्रपछि राज्य संरचनामा सकारात्मक परिवर्तन आएको दाबी गर्दै उनले यसले सबै वर्ग, समुदाय र क्षेत्रलाई राज्यसँग जोड्ने काम गरेको उल्लेख गरे। तर अझै सुशासन र प्रभावकारी सेवा प्रवाहमा सुधार आवश्यक रहेको उनको धारणा थियो।
परियारले गणतन्त्रलाई स्थिर र परिणाममुखी बनाउन राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने बताए। उनका अनुसार अबको प्राथमिकता व्यवस्था परिवर्तन होइन, व्यवस्थाभित्रको सुधार र सुशासन हुनुपर्छ।
उनले गणतन्त्रको विकल्प खोज्ने बहस व्यर्थ भएको उल्लेख गर्दै यसको सुधार र सुदृढीकरण नै अबको बाटो भएको स्पष्ट पारे।




Facebook Comments