रसुवा । २१६ मेगावाट क्षमताकोमाथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाअन्तर्गत निर्माण गरिएको पानी बहाव नियन्त्रण गर्ने वेयर गेट (ड्याम गेट) को औपचारिक उद्घाटन सम्पन्न भएको छ।

रसुवा जिल्लामा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतपार्क थेयङले उक्त वेयर गेटको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै आयोजना निर्माण कार्य अन्तिम चरणतर्फ प्रवेश गरेको आयोजनासम्बद्ध पक्षले जनाएको छ।

ad

राजदूत पार्क थेयङले नवीन प्रविधियुक्त संरचना सफलतापूर्वक सञ्चालनमा आउनु आयोजना कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले गणतन्त्र कोरियाले विगत पाँच दशकभन्दा बढी समयदेखि नेपालसँग विकास साझेदारी गर्दै आएको र जलविद्युत क्षेत्र यस सहकार्यको प्रमुख आधार रहेको बताए।

उनका अनुसार कोरियाली पक्षले नेपालमा विभिन्न ऊर्जा परियोजनामा वित्तीय तथा प्राविधिक सहयोग गर्दै आएको छ। उनले नेपाल र कोरिया बीच ऊर्जा क्षेत्रमा अझै धेरै सहकार्यको सम्भावना रहेको समेत बताए।

कार्यक्रममा आयोजनाका प्रतिनिधिहरूले वेयर गेट निर्माण सम्पन्न हुनु परियोजनाको प्रमुख संरचनागत चरण पूरा हुनु सरह भएको उल्लेख गरेका छन्। यसले आयोजनालाई व्यावसायिक उत्पादनतर्फ लैजान सहयोग पुग्ने अपेक्षा गरिएको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनानेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि (एनडब्ल्यूईडीसी) द्वारा निर्माणाधीन आयोजना हो। यस आयोजनाका प्रमुख लगानीकर्ता कोरिया साउथ इस्ट पावर कम्पनी र कोरिया ओभरसिज इन्फ्रास्ट्रक्चर एण्ड अर्बन डेभलपमेन्ट कर्पोरेशन रहेका छन्।

आयोजना नेपालको ऊर्जा क्षेत्रमा हालसम्मकै ठूलो प्रत्यक्ष वैदेशिक लगानीमध्ये एक मानिएको छ। नदी प्रवाहमा आधारित यो आयोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

लगानी संरचना अनुसार आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी रहेको छ। ऋण लगानीमा अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक तथा कोरियाली एक्जिम बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू संलग्न छन्।

उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्रालयका प्रतिनिधि, कोरियाली दूतावासका अधिकारी, आयोजना सरोकारवाला, स्थानीय बासिन्दा तथा सञ्चारकर्मी गरी करिब २५० जनाको उपस्थिति रहेको थियो।