काठमाडौं ।सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतिका लागि हुने संघीय संसद्को संयुक्त बैठकको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

शुक्रबार दिउँसो ४ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने तय भएको छ। सोही बैठकमा अर्थमन्त्रीडा. स्वर्णिम वाग्लेले सरकारको वार्षिक राजस्व र व्ययको अनुमान सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

ad

प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ सरकारका तर्फबाट प्रस्तुत हुन लागेको यो पहिलो पूर्ण बजेट भएकाले यसको विशेष महत्व रहेको बताइएको छ। संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई बैठक सुरु हुनुअघि नै आ–आफ्नो स्थान ग्रहण गर्न अनुरोध गरेको छ।

सचिवालयका प्रवक्ताएकराम गिरीका अनुसार नयाँ संसद् भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक सञ्चालन गर्ने योजना रहे पनि निर्माणसम्बन्धी अन्तिम काम पूरा नभएकाले बजेट प्रस्तुति बहुउद्देश्यीय हलमै गर्न लागिएको हो।

उनले सीमित स्थानका कारण यसपटकको संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी, सरकारी उच्च अधिकारी तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई आमन्त्रण नगरिएको जानकारी दिए।