काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउने रणनीति तय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले आगामी दिनमा संसद्भित्र पार्टीको प्रस्तुतिलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापा ले आगामी आर्थिक वर्षको बजेट, संसद्मा पार्टीको रणनीति तथा संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिइन्।

ad

उनका अनुसार शुक्रबार प्रस्तुत हुने बजेटलाई लिएर पार्टीभित्र धारणा निर्माण गर्ने तथा संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुने तयारीबारे बैठकमा विशेष छलफल गरिएको थियो। साथै संसदीय दलअन्तर्गत रिक्त रहेका केही पदमा जिम्मेवारी बाँडफाँट गर्ने विषय पनि एजेन्डामा समावेश गरिएको थियो।

बैठकमा संसद्का विषयगत समितिहरूको कामलाई थप प्रभावकारी बनाउन पार्टीका तर्फबाट अध्ययन र समन्वय गर्ने संयोजक तोक्ने विषयमा समेत छलफल भएको बताइएको छ।

त्यसैगरी गणतन्त्र दिवसका अवसरमा सरकार प्रमुखको सम्बोधन नआएको विषयमा पनि बैठकमा चर्चा भएको प्रमुख सचेतक थापाले जानकारी दिइन्। कांग्रेसले उक्त विषयलाई गम्भीर रूपमा लिँदै सरकारको भूमिकामाथि प्रश्न उठाएको जनाएको छ।