काठमाडौं । नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीबाट सम्बोधन नआउनुलाई गैरजिम्मेवार र अनुत्तरदायी व्यवहारको संज्ञा दिएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले विगतदेखि नै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने अभ्यास रहँदै आएको उल्लेख गर्दै यसपटक त्यसको निरन्तरता नदेखिएकोप्रति असन्तुष्टि जनाइन्।

ad

उनले प्रधानमन्त्री अनुपस्थित रहने भए त्यसको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने बताइन्। स्वास्थ्य अवस्था, व्यस्तता वा अन्य कुनै कारण भए पनि त्यसबारे जानकारी गराइएको भए उपयुक्त हुने उनको धारणा थियो।

थापाले गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको अवसरमा प्रधानमन्त्रीको मौनता स्वाभाविक मान्न नसकिने बताउँदै यसले सरकारको जिम्मेवारीबोधमाथि प्रश्न उठाएको टिप्पणी गरिन्।

त्यसैगरी उनले कानुनी प्रक्रिया र अनुसन्धानका विषयमा पनि धारणा राख्दै कानुनभन्दा माथि कोही पनि नरहने कांग्रेसको स्पष्ट अडान रहेको बताइन्। अनुसन्धान प्रक्रिया निष्पक्ष, प्रमाणमा आधारित र कानुनसम्मत हुनुपर्नेमा जोड दिँदै उनले पहिले पक्राउ गर्ने र त्यसपछि मात्रै अनुसन्धान अघि बढाउने शैली उचित नदेखिएको प्रतिक्रिया दिइन्।

उनको भनाइमा सत्यतथ्यका आधारमा पारदर्शी छानबिन गरी कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्छ।